सबैला नगरपालिकामा ‘हिसाब–किताब अभियान’ सुरु

सबैला नगरपालिकामा ‘हिसाब–किताब अभियान’ सुरु
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १२, बुधबार १०:४३
सबैला नगरपालिकामा ‘हिसाब–किताब अभियान’ सुरु

जनकपुरधाम : धनुषाको सबैला नगरपालिकामा स्थानीय जनप्रतिनिधिहरूको कार्यसम्पादनको समीक्षा गर्दै नागरिकलाई तथ्यका आधारमा आगामी निर्वाचनमा निर्णय लिन सघाउने उद्देश्यले ‘हिसाब–किताब अभियान’ सुरु गरिएको छ।

नगरपालिकामा जनप्रतिनिधिहरूले साढे चार वर्षको अवधिमा गरेका काम, विकास निर्माणको अवस्था, सुशासन, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि क्षेत्रको उपलब्धिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले डिजिटल माध्यमबाट अभियान थालिएको हो।

ADVERTISEMENT

अभियानका संयोजक तथा अभियन्ताहरूका अनुसार, सबैला नगरपालिकाको विकास, बजेट खर्च र सुशासनसँग सम्बन्धित पाँच हजारभन्दा बढी पृष्ठका आधिकारिक कागजात सङ्कलन गरिएका छन्। ती कागजातको अध्ययन, तथ्यहरूको विश्लेषण र उपलब्ध विवरणको समीक्षा गरी निष्कर्षलाई सर्वसाधारणले बुझ्ने सरल भाषामा सार्वजनिक गर्ने तयारी गरिएको छ।

अभियानले जनप्रतिनिधिहरूका राम्रा कामको पहिचान गर्नुका साथै कमजोरी, अनियमितता तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयलाई पनि तथ्य र प्रमाणका आधारमा नागरिकसमक्ष ल्याउने लक्ष्य राखेको जनाएको छ।

अभियानका अगुवाहरूका अनुसार, देश तथा विदेशमा रहेका दक्ष युवा स्वयम्सेवकहरूको सहयोगमा सङ्कलित कागजातको अध्ययन र विश्लेषण गरिनेछ। यसबाट नगरपालिकाको कामकारबाहीबारे नागरिकलाई जानकारी प्राप्त हुनुका साथै सार्वजनिक निकायप्रति जवाफदेहिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आगामी निर्वाचनमा मतदाताले भावनात्मक प्रभावमा मात्र नभई जनप्रतिनिधिहरूको कार्यसम्पादन, विकासका उपलब्धि र सार्वजनिक स्रोतको उपयोगसम्बन्धी तथ्यका आधारमा निर्णय लिन सकून् भन्ने अभियानको उद्देश्य रहेको छ।

अभियानलाई प्रभावकारी बनाउन आयोजकले देश तथा विदेशमा रहेका सबैलावासी युवासहित विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिलाई स्वयम्सेवकका रूपमा सहभागी हुन आह्वान गरेको छ।

विशेषगरी सफ्टवेयर इन्जिनियर तथा डेभलपर, तथ्याङ्क विश्लेषक, सुशासन तथा कानुनका जानकार, सार्वजनिक वित्त विज्ञ, कन्टेन्ट क्रिएटर, सञ्चारकर्मी, स्थानीय युवा अभियन्ता तथा साइबर सुरक्षा र गोपनीयतासम्बन्धी विज्ञको सहभागिता खोजिएको छ।

प्राविधिक सीप, अनुसन्धान क्षमता र सञ्चारसम्बन्धी दक्षता भएका युवाको सहयोगबाट सङ्कलित तथ्यलाई व्यवस्थित रूपमा विश्लेषण गरी नागरिकसम्म पुर्‍याउने अभियानको योजना छ।

अभियानका अगुवाहरूले सबैला नगरपालिकाको विकास र सुशासनका लागि आफ्नो व्यस्त समयबाट केही घण्टा छुट्याएर योगदान गर्न युवालाई आग्रह गरेका छन्।

जन्मभूमिप्रतिको जिम्मेवारी पूरा गर्न नागरिक स्वयं तथ्य सङ्कलन, विश्लेषण र सार्वजनिक जवाफदेहिताको अभियानमा सहभागी हुनुपर्ने उनीहरूको भनाइ छ।

अभियानमा सहभागी हुन इच्छुक व्यक्तिले संयोजक बीपी साहलाई मोबाइल नम्बर ९८५११२८७६३ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

‘हिसाब–किताब अभियान’ ले नगरपालिकाको कामकारबाहीबारे तथ्यमा आधारित सार्वजनिक बहसलाई प्रोत्साहन गर्नुका साथै नागरिक चेतना अभिवृद्धि र सुशासन प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार १०:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !