भारी वर्षाको सम्भावना: स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन

भारी वर्षाको सम्भावना: स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १२, बुधबार १०:३६
भारी वर्षाको सम्भावना: स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं: कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ र हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

सम्भावित बाढी, पहिरो र डुबानबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पूर्वतयारी र प्रतिकार्यका गतिविधि प्रभावकारी बनाउन आग्रह गरेको हो।

ADVERTISEMENT

जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न क्षेत्रमा विपद्को जोखिम औँल्याएपछि स्वास्थ्य सेवाको तयारीलाई थप मजबुत बनाउन परिपत्र जारी गरिएको एकाइले जनाएको छ।

एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा प्रत्येक प्रदेशमा चौबीसै घण्टा सम्पर्कमा रहन सक्ने गरी एक जना आपत्कालीन सम्पर्क व्यक्ति तोक्न निर्देशन दिइएको छ। उक्त व्यक्तिको विवरण एकाइमा उपलब्ध गराउनुका साथै सार्वजनिक गर्न पनि भनिएको छ।

त्यस्तै, सम्भावित विपद्सम्बन्धी घटनाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ प्रणालीमार्फत अनिवार्य रूपमा पठाउन आग्रह गरिएको छ। सम्बन्धित हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली र आवश्यक स्वास्थ्यकर्मीलाई जुनसुकै बेला परिचालन गर्न सकिने अवस्थामा राख्न निर्देशन दिइएको छ।

परिपत्रमा साझेदार निकायसँग समन्वय गरी उपलब्ध स्वास्थ्य जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य आवश्यक स्रोतसाधनको विवरण तत्काल अद्यावधिक गर्न पनि भनिएको छ।

विपद्बाट प्रभावित नागरिकलाई समयमै उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशस्थित एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, आवश्यकताअनुसार एम्बुलेन्स सेवा छिटो, सहज र प्रभावकारी रूपमा परिचालन हुने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

सम्भावित विपद्का कारण स्वास्थ्य सेवा प्रवाहमा अवरोध आउन नदिन र प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा स्वास्थ्य प्रतिकार्य सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायलाई यस्तो निर्देशन दिइएको हो।

प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार १०:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !