कृत्रिम ड्यामले दाङका किसानलाई राहत, सिँचाइसँगै भूमिगत जलस्तरमा सुधार

कृत्रिम ड्यामले दाङका किसानलाई राहत, सिँचाइसँगै भूमिगत जलस्तरमा सुधार
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ७, शुक्रबार १०:३०
कृत्रिम ड्यामले दाङका किसानलाई राहत, सिँचाइसँगै भूमिगत जलस्तरमा सुधार

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानलाई सिँचाइमा सहज भएको छ। विगतमा आकासे पानीको भर पर्नुपर्ने यस क्षेत्रका खेतबारीमा अहिले सिँचाइको सुविधा विस्तार हुँदै गएको छ।

बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण गरेको ड्यामबाट हाल हेमन्तपुर क्षेत्रमा नियमित सिँचाइ भइरहेको छ। यसका साथै धनखन्ने, सानोदमार र दौडारे क्षेत्रका करिब २०० बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने काम अघि बढाइएको ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले जानकारी दिए।

ADVERTISEMENT

ड्याम निर्माणपछि खेतबारीमा पानीको उपलब्धता बढ्नुका साथै आसपासका कुवा तथा इनारमा पानीको सतहसमेत बढेको नेपालीले बताए। यसले स्थानीयलाई खानेपानीलगायत अन्य दैनिक प्रयोजनका लागि पनि सहज भएको उनको भनाइ छ।

तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीका अनुसार पहिले चैत महिनामै सुक्ने कुवा तथा इनारमा अहिले जलपुनर्भरण बढेकाले वर्षभरि पानी रहने अवस्था बनेको छ। सिँचाइ अभावमा बाँझो तथा सुक्खा रहने गरेका जमिनमा समेत हरियाली बढ्न थालेको उनले बताए।

वलीका अनुसार उक्त क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक क्षेत्रभन्दा कृषि क्षेत्रका रूपमा विकास गर्ने नीति अघि बढाइएको छ। कृत्रिम ड्याम तथा तालतलैयाले जलस्रोत संरक्षण र कृषि उत्पादन वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ।

ड्यामबाट सिँचाइ र भूमिगत जलस्तरमा सुधार हुनुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन पनि सहयोग पुगेको छ। उक्त ड्याममा डुङ्गा सञ्चालन गरेर स्थानीयले अतिरिक्त आम्दानीसमेत गर्न थालेका छन्।

कृत्रिम ड्याम निर्माणले सिँचाइ सुविधा विस्तार, भूमिगत जलस्रोतको पुनर्भरण र कृषि क्षेत्रको विकासमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ।

#MadheshPatra

प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार १०:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !