धनुषाको काली मन्दिरमा सुजित यादवको निर्जल तपस्या,९ दिनदेखि ध्यानमा

धनुषाको काली मन्दिरमा सुजित यादवको निर्जल तपस्या,९ दिनदेखि ध्यानमा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ३, सोमबार १०:४२
धनुषाको काली मन्दिरमा सुजित यादवको निर्जल तपस्या,९ दिनदेखि ध्यानमा

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेसनमा रहेको प्रसिद्ध काली मन्दिरमा सुजित यादव निर्जल तपस्यामा बसेका छन्। घटस्थापनादेखि सुरु गरेको उनको तपस्या नवौँ दिनसम्म पनि जारी छ। उनी १२ दिनसम्म निराहार र निर्जल व्रत बस्ने सङ्कल्पसहित ध्यानमा लीन रहेको जनाइएको छ।

‘सुजित सर’का रूपमा परिचित यादवले तपस्याका क्रममा आफ्नो छातीमा तिल र जौ उमारेर साधना गरिरहेका छन्। उनको यो धार्मिक अभ्यासले मन्दिरमा आउने भक्तजन तथा स्थानीयवासीको ध्यान आकर्षित गरेको छ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकनन्दिनी गाउँपालिका उपसभापति तथा न्यू लाइफ भिजन स्कुलका संस्थापकसमेत रहेका यादवले विगत तीन वर्षदेखि हरेक दसैँमा घटस्थापनादेखि विजया दशमीसम्म निराहार व्रत र ध्यान गर्दै आएको बताइएको छ।

यादवका अनुसार तपस्याको अवधिमा उनले खाना र पानीसमेत ग्रहण गर्दैनन्। यस अवधिमा दिसापिसाबसमेत नगर्ने दाबी गरिएको छ। उनले हिन्दू धर्म, दुर्गा भवानीप्रतिको आस्था र दैवी शक्तिमा विश्वास राख्दै यस्तो कठोर साधना गर्दै आएको बताइन्छ।

हिन्दू धार्मिक परम्परामा नवरात्रका अवसरमा शक्तिस्वरूपा दुर्गा भगवतीको आराधना, व्रत र तपस्यालाई विशेष महत्त्व दिइन्छ। मिथिला क्षेत्रमा पनि दसैँका बेला शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने र विभिन्न धार्मिक अनुष्ठान गरिने परम्परा छ। खजुरीस्थित काली मन्दिरमा यादवले गरिरहेको साधना पनि यही धार्मिक आस्थासँग जोडिएको छ।

धार्मिक साधनासँगै यादवको राजनीतिक गतिविधिलाई लिएर पनि स्थानीय क्षेत्रमा चर्चा हुने गरेको छ। आगामी निर्वाचनमा उनलाई जनकनन्दिनी गाउँपालिकाको अध्यक्षको सम्भावित उम्मेदवारका रूपमा समेत हेरिएको छ।

शिक्षा र राजनीतिमा सक्रिय यादवको यो साधनाले उनको सार्वजनिक परिचयको अर्को पक्ष उजागर गरेको छ। काली मन्दिरमा जारी उनको तपस्या अहिले स्थानीयस्तरमा चासोको विषय बनेको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार १०:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !