महोत्तरीको पिपरा गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा

महोत्तरीको पिपरा गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १९:१४
महोत्तरीको पिपरा गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा

जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको जीवन सुखी, सुरक्षित र समृद्ध बनाउने उद्देश्यका साथ स्थानीय जनप्रतिनिधि, अभिभावक तथा विभिन्न संघसंस्थाको सक्रियतामा वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो।

मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, वडा अध्यक्ष हरिशंकर यादव र रतौली युवा क्लबका अध्यक्ष बैद्यनाथ चौधरीले संयुक्त रूपमा वडालाई बालविवाहमुक्त घोषणा गरेका हुन्।

ADVERTISEMENT

बालविवाहमुक्त वडा घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख यादवले बालविवाह समाजका लागि अभिशाप भएको बताए। बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, व्यक्तिगत विकास र उज्ज्वल भविष्यमा नकारात्मक असर पार्ने उल्लेख गर्दै उनले यसको अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

वडालाई बालविवाहमुक्त घोषणा गर्ने अभियानमा रतौली युवा क्लब, स्थानीय जनप्रतिनिधि र अभिभावकहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको सभामुख यादवले बताए। बालविवाहमुक्त घोषणा गर्नु मात्रै पर्याप्त नभई यसको प्रभावकारी कार्यान्वयन र दिगोपनामा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

रतौली युवा क्लबको समन्वय, सेभ द चिल्ड्रेनको सहयोग तथा स्थानीय जनप्रतिनिधि र अभिभावकहरूको सक्रियतामा पिपरा गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो।

बालविवाह अन्त्य गर्ने अभियानलाई प्रभावकारी बनाउन परिवार, समुदाय, स्थानीय सरकार र सरोकारवाला संघसंस्थाबीच सहकार्य आवश्यक हुन्छ। बालबालिकालाई शिक्षा, संरक्षण र आफ्नो भविष्य आफैँ निर्माण गर्ने अवसर सुनिश्चित गर्न यस्ता अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार १९:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !