ओलीको आरोप : ‘हामीविरुद्धको घेराबन्दी अझै सकिएको छैन’

ओलीको आरोप : ‘हामीविरुद्धको घेराबन्दी अझै सकिएको छैन’
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार १६:५२
ओलीको आरोप : ‘हामीविरुद्धको घेराबन्दी अझै सकिएको छैन’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन्। बलिया पक्षले कमजोरमाथि बलजफ्ती गरे त्यसको प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले आगामी चुनौतीहरूको सामना गर्दै अघि बढ्नुपर्ने बताए।

ADVERTISEMENT

उनले लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको दाबी गर्दै तिनको पुनःप्राप्ति आवश्यक रहेको उल्लेख गरे। बलजफ्ती र दमनविरुद्ध प्रतिवाद गर्नुपर्ने भन्दै उनले विगतमा पनि आफूहरूले त्यस्तो संघर्ष गरेको र आवश्यक परे फेरि गर्ने बताए।

‘लोकतन्त्र मासिएको छ। स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ। यी चिजको पुनःप्राप्ति गर्नु अनिवार्य सर्त हो,’ ओलीले भने, ‘यदि बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौँ।’

ओलीले शान्ति र न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने पनि बताए। निहत्था जनतालाई हतियार र संगठित शक्तिको बलमा दबाइए त्यसको प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो।

‘आगो लगाउनु, लुटपाट गर्नु आन्दोलन होइन। ठूलो र बलियोले कमजोरमाथि बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नु मात्रै आन्दोलन हो,’ उनले भने।

आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुने ओलीले दाबी गरे। विगतका निर्वाचन तथा पार्टीभित्रका राजनीतिक घटनाक्रमको स्मरण गर्दै उनले आफ्नो पार्टीलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको आरोप लगाए।

‘यस निर्वाचनमा हामीविरुद्धको घेराबन्दी सकिएको छैन। घेराबन्दी चालु छ,’ ओलीले भने।

उनले विगतमा पनि एमालेविरुद्ध घेराबन्दी गरिएको र पार्टी नै कब्जा गर्ने प्रयास भएको दाबी गर्दै आगामी चुनौतीको सामना गर्न पार्टी पंक्ति तयार रहनुपर्ने सन्देश दिएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १६:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !