बिहानै किन आउँछन् भोटेकोसी र बुढीगण्डकीमा बाढी? अध्ययनले देखायो हिमपहिरोको जोखिम

बिहानै किन आउँछन् भोटेकोसी र बुढीगण्डकीमा बाढी? अध्ययनले देखायो हिमपहिरोको जोखिम
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार ११:४६
बिहानै किन आउँछन् भोटेकोसी र बुढीगण्डकीमा बाढी? अध्ययनले देखायो हिमपहिरोको जोखिम

काठमाडौं : हिमाली क्षेत्रमा हिमपहिरो र बाढीका घटना बिहानको समयमा बढी हुने गरेको एक अध्ययनले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) ले अन्नपूर्ण दोस्रो र लमजुङ हिमालमा गएको हिमपहिरोको अध्ययन गर्दा बिहान ६ देखि १० बजेसम्म यस्ता घटना बढी भएको पाइएको हो।

हालै भोटेकोसी र बुढीगण्डकी नदीमा आएका विनाशकारी बाढीको कारणबारे प्रारम्भिक अध्ययन भइरहेका बेला हिमपहिरोको समय र प्रकृतिसम्बन्धी यो तथ्य महत्त्वपूर्ण देखिएको छ।

ADVERTISEMENT

प्रारम्भिक अध्ययनले चीनको सीमातर्फ लाङटाङ क्षेत्रमा गएको ठूलो हिमपहिरो भोटेकोसीमा बाढी आउनुको सम्भावित कारण रहेको देखाएको छ। त्यस्तै, बुढीगण्डकीमा आएको बाढीमा सुक्खा पहिरोको भूमिका रहेको प्रारम्भिक आकलन गरिएको छ। जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिने क्रम र हिमपहिरोले पनि यस्ता विपत्तिमा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ।

हिमाली क्षेत्रमा बिहानै बढी हिमपहिरो

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाले ७ हजार ९३७ मिटर अग्लो अन्नपूर्ण दोस्रो र ६ हजार ९८३ मिटर उचाइको लमजुङ हिमालमा गएको हिमपहिरोको तथ्याङ्क अध्ययन गरेको थियो।

कास्कीको उत्तरी भेगमा पर्ने सिक्लेस र ताङतिङका बासिन्दाका लागि हिमपहिरोको आवाज नयाँ होइन। अन्नपूर्ण दोस्रोको सामुन्ने रहेको ताङतिङमा हिमपहिरो जाँदा गड्याङगुडुङ आवाज सुनिने गरेको स्थानीय बताउँछन्।

मादी गाउँपालिका–२ ताङतिङका बासिन्दा तथा गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ ‘श्याम’ का अनुसार हिमपहिरो गएको दृश्य नाङ्गो आँखाले समेत देख्न सकिन्छ।

‘हिमपहिरो गएपछि हिमालमा सेतो धुवाँ उडेजस्तो देखिन्छ। आकाश कराएजस्तो गड्याङगुडुङ आवाज भने केहीबेरपछि मात्र गाउँसम्म आइपुग्छ,’ उनले नेपालखबरसँग भने, ‘ताङतिङतिर हिमाल कराउनु सामान्य हो। तर बाहिरबाट आएका पाहुना भने झस्किने गर्नुहुन्छ।’

उनको अनुमानमा रातभर परेको हिउँ घाम लागेपछि पग्लिन थाल्छ र थुप्रिएको हिउँ पहिरोका रूपमा तल झर्छ। यस्तो हिउँ हिमालको तल्लो खोँचमा पुगेर पुनः जम्ने गरेको पनि उनले बताए।

हिउँको पहिरो र चट्टानसहितको पहिरो फरक

गुरुङका अनुसार हिउँ थपिँदै जाँदा बनेका थुप्रा तल खस्नु र हिमालको तल्लो भागमा रहेका चट्टान तथा लेदोसहितको पहिरो आउनु फरक प्रकृतिका घटना हुन्।

‘भोटेकोसीमा त हिमालको तल्लो भागमा रहेको चट्टान र लेदो नै आएको देखिन्छ। त्यो हिमालमा गएको ठूलो पहिरो हुनुपर्छ,’ उनले भने।

हिमपहिरोका कारण अहिलेसम्म मादी नदीमा ठूलो विपत्ति नआएको भए पनि केही वर्षअघि पहिरोसहित आएको बाढीले नदी किनारका सोँधाका घर र जग्गा बगाएको उनले बताए।

हिउँ जमेर ठूलो र कडा थुप्रो बनेपछि त्यो खस्दा पनि ठूलो क्षति हुन सक्छ। विगतका केही घटनाले हिमपहिरोको जोखिम कति गम्भीर हुन सक्छ भन्ने देखाएका छन्।

२०७१ वैशाख ५ गते सगरमाथाको पहिलो शिविरमा गएको हिमपहिरोमा परी १२ जना नेपाली शेर्पाले ज्यान गुमाएका थिए। त्यस्तै, गत साउन १५ गते पाकिस्तानको काराकोरम हिमशृङ्खलाअन्तर्गत ब्रडपिकमा गएको हिमपहिरोमा आरोही निर्मल पुनसहित १० जनाको मृत्यु भएको विवरण छ। यी दुवै घटना बिहानको समयमा भएका थिए। सगरमाथामा बिहान करिब ६:३० बजे र ब्रडपिकमा बिहान ९:३० बजेतिर हिमपहिरो गएको थियो।

तथ्याङ्कले पनि बिहानको जोखिम देखाउँछ

एक्यापले २०८१ कात्तिक ६ देखि पुस ८ गतेसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार अन्नपूर्ण दोस्रोमा ९२ र लमजुङ हिमालमा ३६ वटा हिमपहिरो गएको थियो। तीमध्ये ४८ वटा साना, ३६ वटा मझौला र ४४ वटा ठूला थिए।

एक्यापको सिक्लेस कार्यालयका प्रमुख संग्राम कार्कीका अनुसार उक्त अवधिमा बिहान ६ देखि १० बजेसम्म ८० वटा हिमपहिरो गएको अभिलेख छ। दिउँसो २ देखि ४ बजेसम्म भने आठवटा मात्रै हिमपहिरो रेकर्ड भएका थिए।

त्यस्तै, २०८२ भदौदेखि २०८३ असार मसान्तसम्म सङ्कलित तथ्याङ्कअनुसार अन्नपूर्ण दोस्रोमा १०१ र लमजुङ हिमालमा २३ वटा हिमपहिरो गएको थियो। तीमध्ये ३६ वटा ठूला र ५३ वटा सामान्य प्रकृतिका रहेको विवरणमा उल्लेख छ।

कार्कीका अनुसार यस अवधिमा पनि बिहान ६ देखि १० बजेसम्म ७४ वटा, बिहान १० देखि दिउँसो २ बजेसम्म २८ वटा र दिउँसो २ देखि ४ बजेसम्म २१ वटा हिमपहिरो गएको अभिलेख छ। साँझ ६ देखि राति १० बजेको अवधिमा पनि एउटा हिमपहिरो रेकर्ड भएको उनले बताए।

बिहानको समयमा बढी सतर्क हुन सुझाव

मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङका अनुसार अध्ययनका क्रममा तस्वीर र भिडियोका आधारमा हिमपहिरोको प्रकृति तथा स्वरूप पहिचान गरिएको थियो।

उनका अनुसार अन्नपूर्ण क्षेत्रमा रातभर हिउँ पर्ने र बिहान घाम लागेपछि तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर तल झर्ने गरेको पाइएको छ।

‘हिमपहिरो धेरैजसो बिहानको समयमा आएको देखिन्छ। घामको तापले हिमाललाई तताएपछि हिउँका थुप्रा तल झर्न सक्छन्,’ उनले भने, ‘हिमालको आसपास र हिमाल हुँदै बग्ने नदी क्षेत्रका बासिन्दा बिहानको समयमा बढी सचेत हुनुपर्ने देखिन्छ। पछिल्ला घटनाले पनि त्यही सन्देश दिएका छन्।’

अध्ययनले बिहानको समयमा हिमपहिरोको जोखिम बढी देखाए पनि सबै बाढीको कारण हिमपहिरो नै हुन्छ भन्ने निष्कर्ष निकाल्न भने मिल्दैन। भोटेकोसी र बुढीगण्डकीमा आएका बाढीको वास्तविक कारण पुष्टि गर्न थप वैज्ञानिक अध्ययन आवश्यक देखिन्छ।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार ११:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !