चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार १२:५७
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठबाट चिनियाँ नागरिकहरूको साथबाट बरामद गरिएको २१ किलो ७५० ग्रामभन्दा बढी सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई भन्सार कार्यालय पठाइएको हो।

ADVERTISEMENT

भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको सम्भावित सञ्जालबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। घटनाका विभिन्न पक्ष र संलग्न व्यक्तिहरूबारे अनुसन्धान गर्न छुट्टै टोली बनाएर काम भइरहेको एसएसपी खड्काले बताए।

गत असोज २२ गते अपराध अनुसन्धान कार्यालयको टोलीले बूढानीलकण्ठ नगरपालिका–माथिल्लो भंगालस्थित एक घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो। बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का र लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो।

घर भाडामा लिएर सुनको कारखाना सञ्चालन गरेको आरोप

प्रहरीले सुनसहित चीनको जियाङ्सु र ग्वाङडोङ क्षेत्रका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेनलाई पक्राउ गरेको थियो।

उनीहरूले पूरै घर भाडामा लिएर सुन प्रशोधन गर्ने कारखाना सञ्चालन गरेको आरोप छ। बरामद सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने प्रहरीको आशंका छ।

सुनको स्रोत, नेपाल भित्र्याउने माध्यम तथा यसमा संलग्न सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १२:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !