साउदीका लागि प्रस्तावित राजदूत सुनारबारे कागजात झिकाउने निर्णय

साउदीका लागि प्रस्तावित राजदूत सुनारबारे कागजात झिकाउने निर्णय
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार १६:३७
साउदीका लागि प्रस्तावित राजदूत सुनारबारे कागजात झिकाउने निर्णय

काठमाडौं : साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारसँग सम्बन्धित कागजात झिकाउन संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ।

सोमबार उजुरीकर्ताहरूसँग छलफल गरेपछि समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र ललितपुर प्रहरी कार्यालयबाट सम्बन्धित कागजात मगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए।

ADVERTISEMENT

प्रस्तावित राजदूत सुनारविरुद्ध दुईवटा उजुरी परेका छन्। तीमध्ये एउटा उजुरीमा उनीमाथि महिला हिंसा गरेको र धम्की दिएको आरोप लगाइएको छ। उजुरीकर्ताका अनुसार सुनारले यस घटनामा दुईपटक ललितपुर प्रहरी कार्यालयमा माफी मागेका थिए।

उजुरीकर्ताले प्रहरीमा माफी मागेको तथा मिलापत्र भएको कागजातका प्रतिलिपिसहित घटनासँग सम्बन्धित सन्देशका स्क्रिनसट पनि समितिमा बुझाएको बताइएको छ।

त्यस्तै, सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको विषयमा पनि उजुरी परेको छ। यसबारे थप तथ्य स्पष्ट पार्न समितिले सम्बन्धित निकायबाट कागजात झिकाउने निर्णय गरेको हो।

सुनारविरुद्ध परेको अर्को उजुरीमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित हाम्रो नेपाल पार्टीमा आबद्ध रहेको दाबी गरिएको छ। राजदूत नियुक्त हुने व्यक्ति कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नहुने जिकिर गर्दै उजुरीकर्ताले सुनारको नियुक्तिमाथि प्रश्न उठाएका छन्।

संसदीय सुनुवाइ समितिले सोमबारदेखि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको हो। सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १६:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !