नयाँ बसपार्कबाट ९ दिनमा दुई लाखभन्दा बढी यात्रु बाहिरिए

नयाँ बसपार्कबाट ९ दिनमा दुई लाखभन्दा बढी यात्रु बाहिरिए
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार ११:१३
नयाँ बसपार्कबाट ९ दिनमा दुई लाखभन्दा बढी यात्रु बाहिरिए

काठमाडौं : बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। नयाँ बसपार्कबाट मात्रै असोज १७ देखि २५ गतेसम्म नौ दिनमा दुई लाख सात हजारभन्दा बढी यात्रु बाहिरिएका छन्।

नयाँ बसपार्क सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार उक्त अवधिमा दुई लाख ७ हजार २५१ यात्रुले नयाँ बसपार्कबाट यात्रा गरेका हुन्।

ADVERTISEMENT

उनका अनुसार असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३०, १९ गते २३ हजार १६, २० गते २९ हजार ६०२, २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१, २३ गते ३१ हजार १२३, २४ गते १६ हजार ९७० र २५ गते २९ हजार ३८० यात्रुले बसपार्कबाट यात्रा गरेका छन्।

दशैं मनाउन घर फर्किने यात्रुको संख्या बढेसँगै नयाँ बसपार्कमा चहलपहलसमेत बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरू चाडपर्व मनाउन आ–आफ्नो गाउँघर फर्किरहेका छन्।

यात्रुको चाप बढिरहेका बेला सडकको खराब अवस्थाले यातायात व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको यातायात व्यवसायीहरूले बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार अग्रिम टिकट बुकिङ खुला भएको पहिलो दिन असोज २३ गते धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन प्रभावित भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यात्रु व्यवस्थापनमा कठिनाइ भएको उनले बताए।

यसैबीच, महासंघले यात्रुहरूलाई आधिकारिक टिकट काटेर मात्रै यात्रा गर्न, सरकारले तोकेको दरअनुसारको भाडा तिर्न र आफू चढ्ने सवारीसाधनको प्राविधिक अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी पर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार ११:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !