अन्तरप्रदेश विद्युतीय सवारीको नयाँ भाडादर सार्वजनिक, डिलक्समा २० प्रतिशत थप शुल्क

अन्तरप्रदेश विद्युतीय सवारीको नयाँ भाडादर सार्वजनिक, डिलक्समा २० प्रतिशत थप शुल्क
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २३, शुक्रबार १४:१५
अन्तरप्रदेश विद्युतीय सवारीको नयाँ भाडादर सार्वजनिक, डिलक्समा २० प्रतिशत थप शुल्क

काठमाडौं : सरकारले अन्तरप्रदेश रुटमा सञ्चालन हुने विद्युतीय शक्तिबाट चल्ने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार छोटो, मध्यम र लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको हो।

विभागका अनुसार तराई तथा पहाडी सडकखण्डमा सञ्चालन हुने सवारीसाधनको दूरी र सडकको प्रकृतिका आधारमा प्रतिकिलोमिटर भाडादर निर्धारण गरिएको छ।

ADVERTISEMENT

तराईका पक्की तथा ग्राभेल सडकमा २५० किलोमिटरभन्दा लामो दूरीका लागि प्रतिकिलोमिटर प्रतियात्रु २ रुपैयाँ ९३ पैसा भाडा कायम गरिएको छ। त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा तोकिएको छ। काठमाडौं–पोखरा र पोखरा–नारायणगढ रुटमा भने प्रतिकिलोमिटर ३ रुपैयाँ २४ पैसा कायम गरिएको छ।

डिलक्स र सुपर डिलक्समा थप शुल्क

विभागले डिलक्स तथा सुपर डिलक्स सुविधा भएका सवारीसाधनका लागि थप भाडा लिन पाउने व्यवस्था गरेको छ। विभागअन्तर्गतका कार्यालयबाट डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले सामान्य भाडादरमा २० प्रतिशत थप शुल्क लिन सक्नेछन्।

त्यस्तै, सुपर डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले डिलक्स भाडादरमा थप २० प्रतिशत रकम जोडेर यात्रुसँग भाडा लिन पाउने व्यवस्था गरिएको छ।

विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई छुट अनिवार्य

विभागले सार्वजनिक गरेको आचारसंहिताअनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई नियमअनुसारको सहुलियत अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।

यस्तो छुट प्रदान गर्दा कुनै निश्चित रुट, कोटा वा दिनको सीमा तोक्न पाइने छैन। यात्रुले आफ्नो सक्कल परिचयपत्र देखाएमा नियमअनुसारको सहुलियत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने नियम लागू गरिएको छ। चालक तथा सहचालकले तोकिएको पोसाक लगाउनुका साथै परिचयपत्र पनि अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।

बढी भाडा लिए कारबाही, ११११ र १०३ मा उजुरी दिन सकिने

तोकिएकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधनमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ। यात्रुले बढी भाडा लिइएको पाइएमा ‘हेलो सरकार’को टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी दिन सक्नेछन्।

मालवाहक ट्रकको भाडादर पनि समायोजन

विभागले यात्रुवाहक सवारीसाधनसँगै मालवाहक ट्रकको भाडादरसमेत परिमार्जन गरेको छ। नयाँ दरअनुसार तराई क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा भाडा कायम गरिएको छ।

विभागले १० टन क्षमताको ट्रकलाई आधार मानेर प्रमुख रुटहरूको भाडादरसमेत निर्धारण गरेको छ। जसअनुसार पहाडी सडक हुँदै सञ्चालन हुने वीरगञ्ज–काठमाडौं रुटमा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ तोकिएको छ। त्यस्तै, भैरहवा–काठमाडौं रुटका लागि ३२ हजार १४१ रुपैयाँ भाडा निर्धारण गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार १४:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !