विदेह नगरपालिकामा लगाइएको ताला खोल्न रास्वपा नेता रोहिताको माग, मेयर दासलाई चेतावनी

विदेह नगरपालिकामा लगाइएको ताला खोल्न रास्वपा नेता रोहिताको माग, मेयर दासलाई चेतावनी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २३, शुक्रबार २१:२१
विदेह नगरपालिकामा लगाइएको ताला खोल्न रास्वपा नेता रोहिताको माग, मेयर दासलाई चेतावनी

जनकपुरधाम : धनुषाको विदेह नगरपालिकामा लगाइएको तालाबन्दीको विरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता राजकिशोर रोहिताले प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नगरपालिकाका मेयर बेचन दासले आफैँ नगरपालिकामा तालाबन्दी गरी चाबी जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईँटेललाई बुझाएपछि त्यसको विरोधमा रास्वपा नेता रोहिता नेतृत्वको समूहले ज्ञापनपत्र बुझाएको हो ।

ADVERTISEMENT

मेयर दासले चाडपर्वको मुखमा नगरपालिकामा तालाबन्दी गरेर सर्वसाधारणलाई सास्ती दिन खोजेको आरोप रोहिताले लगाएका छन् । उनले वृद्धवृद्धाले पाउने सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब तथा अन्य सेवा सुविधामा अवरोध पुग्ने भन्दै तत्काल ताला खोलेर सेवा प्रवाह सहज बनाउन माग गरेका छन् ।

रोहिताले चाडपर्वका बेला सर्वसाधारणले दैनिक कामकाजका लागि नगरपालिकाबाट पाउनुपर्ने सेवा तथा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना गर्नु उचित नभएको बताए । उनले तालाबन्दीका कारण नागरिक र कर्मचारी दुवै प्रभावित हुने भन्दै नगरपालिकालाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् ।

दसैँअघि नै नगरपालिकाको सेवा प्रवाह सहज नबनाइए त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने चेतावनीसमेत रोहिताले दिएका छन् । जनताका समस्यालाई बेवास्ता गरिए नागरिक चुप लागेर नबस्ने उनको भनाइ छ ।

तालाबन्दीको विरोधमा सीडीओलाई ज्ञापनपत्र बुझाउन डा. राजनिश यादव, रास्वपा विदेह नगरपालिकाका सभापति हरि मण्डललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार २१:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !