क्यानबेरामा परराष्ट्रमन्त्री खनालको व्यस्तता, नेपाली समुदायका समस्या सुने

क्यानबेरामा परराष्ट्रमन्त्री खनालको व्यस्तता, नेपाली समुदायका समस्या सुने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २३, शुक्रबार १४:१०
क्यानबेरामा परराष्ट्रमन्त्री खनालको व्यस्तता, नेपाली समुदायका समस्या सुने

क्यानबेरा : अस्ट्रेलिया भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले राजधानी क्यानबेरामा उच्चस्तरीय भेटवार्ता गर्नुका साथै त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन्।

भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र प्रस्तावित दूतावास भवन निर्माणस्थलको अवलोकन गरे। त्यसपछि उनले अस्ट्रेलियामा सक्रिय विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै उनीहरूका समस्या, चासो र सुझाव सुने।

ADVERTISEMENT

अन्तरक्रियाका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) शाखाका उपाध्यक्ष ललित मल्ल र प्रवक्ता अशोक बस्नेतले मन्त्री खनाललाई ज्ञापनपत्र बुझाए।

ज्ञापनपत्रमा अस्ट्रेलियामा रहेका नेपाली नागरिकको सुरक्षा तथा संरक्षण, आपत्कालीन सहायता कोष स्थापना, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन र नेपाल–अस्ट्रेलियाबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विषय समेटिएका छन्।

यसैबीच, मन्त्री खनालले शुक्रबार अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग शिष्टाचार भेटवार्ता गरे। भेटका क्रममा उनले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नेपाललाई सहयोग गरेकोमा अस्ट्रेलिया सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गरे।

अनलाइनखबरसँगको कुराकानीमा मन्त्री खनालले अस्ट्रेलिया भ्रमण फलदायी रहेको बताए। नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाटमा प्राप्त सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

क्यानबेराका कार्यक्रम सम्पन्न गरेपछि मन्त्री खनाल शुक्रबार नै मेलबर्न प्रस्थान गरेका छन्। मेलबर्नमा निर्धारित कार्यक्रम पूरा गरेपछि उनी शनिबार स्वदेश फर्कने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार १४:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !