जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाद्वारा पार्टीबाट राजीनामा

जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाद्वारा पार्टीबाट राजीनामा
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २३, शुक्रबार १९:०२
जसपा नेपालका जनकपुर नगर सचिव प्रशान्त झाद्वारा पार्टीबाट राजीनामा

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुरधाम उपमहानगरपालिका समितिका नगर सचिव प्रशान्त झाले पार्टीबाट राजीनामा दिएका छन्।

झाले पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी आजकै मितिदेखि पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका छन्।

ADVERTISEMENT

तेस्रो मधेश आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका झाले मधेशको अधिकार, पहिचान, समानता र सामाजिक न्यायका मुद्दामा आफू सक्रिय रहँदै आएको उल्लेख गरेका छन्।

आन्दोलनका क्रममा जनकपुरधाममा युवाहरूको नेतृत्व गर्दै सार्वजनिक तथा राजनीतिक जीवनमा सक्रिय बनेका उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय युवा संघको धनुषा जिल्ला अध्यक्षसमेत भएका थिए।

त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा आबद्ध झाले जनकपुरधाम उपमहानगरपालिका समितिको नगर सचिवको जिम्मेवारी सम्हालेका थिए। लोसपा नेपाल र जसपा नेपालबीच एकीकरण भएपछि बनेको जसपा नेपालमा पनि उनी नगर सचिवकै जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए।

एक दशकभन्दा लामो राजनीतिक यात्राका क्रममा पार्टी संगठन निर्माण, मधेशका मुद्दा तथा लोकतान्त्रिक र सामाजिक न्यायका सवालमा आफ्नो तर्फबाट योगदान गर्ने प्रयास गरेको झाले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउने निष्कर्षमा पुगेको जनाउँदै उनले पार्टीबाट अलग हुने निर्णय लिएको बताएका छन्।

पार्टीमा रहँदा साथ, सहयोग, माया र मार्गदर्शन गर्ने अग्रज, सहकर्मी, युवा साथी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै झाले पार्टी नेतृत्वबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार १९:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !