करिब ४२ करोड भ्रष्टाचार ठहर हुँदा विकल पौडेललाई किन साढे २ वर्ष मात्रै कैद?

करिब ४२ करोड भ्रष्टाचार ठहर हुँदा विकल पौडेललाई किन साढे २ वर्ष मात्रै कैद?
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १८, आईतवार १२:३३
करिब ४२ करोड भ्रष्टाचार ठहर हुँदा विकल पौडेललाई किन साढे २ वर्ष मात्रै कैद?

काठमाडौं : सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले ४१ करोड ९४ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरेको छ। अदालतले उक्त बिगो बराबरको जरिबाना र सम्पत्ति जफत गर्ने फैसला गरे पनि पौडेललाई भने साढे दुई वर्ष मात्रै कैद सजाय तोकेको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले पौडेललाई गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा दुई वर्ष कैद सजाय सुनाएको हो। विशिष्ट श्रेणीको पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप ६ महिना कैद सजाय तोकिएको छ।

ADVERTISEMENT

कसरी ठहर भयो ४१ करोडभन्दा बढी बिगो?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जेठ २०८१ मा पौडेलविरुद्ध ६२ करोड १९ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार पौडेलले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने क्रममा विभिन्न आपूर्तिकर्ता कम्पनीबाट कमिसन लिएका थिए। उक्त रकम नेपालबाहेक सिंगापुर र अमेरिकाका बैंक खातामा समेत राखिएको अख्तियारको दाबी थियो।

अनुसन्धानका क्रममा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकास्थित बैंक अफ अमेरिकाका खातामा रकम भेटिएको थियो। अख्तियारले सिंगापुरमा मात्रै पौडेलको नाममा करिब २८ करोड ९५ लाख रुपैयाँ रहेको दाबी गरेको थियो।

पौडेलले आफ्नो आम्दानीलाई वैध देखाउन सिंगापुरका बैंकोटेक र इन्स्टासेफ नामक कम्पनीमा परामर्शदाताका रूपमा नियुक्त भएको कागजात बनाएको अख्तियारको आरोप थियो।

अख्तियारले ६२ करोड १९ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन भएको दाबी गरे पनि खोजबिनका क्रममा करिब ४४ करोड ५२ लाख रुपैयाँ बराबरको सम्पत्ति फेला परेको जनाएको थियो। बाँकी रकमसमेत जफत गर्न माग गरिएको थियो।

अदालतले कति सम्पत्ति वैध मान्यो?

विशेष अदालतले पौडेलको सम्पत्ति जाँचबुझका क्रममा उनको वैध आय करिब ४ करोड १६ लाख रुपैयाँ रहेको निष्कर्ष निकालेको छ।

१५ चैत २०६१ देखि ३० चैत २०७९ सम्मको अवधिमा पौडेलले तलब तथा भत्ताबाट करिब ३० लाख ९२ हजार रुपैयाँ प्राप्त गरेको देखिएको थियो। त्यसबाहेक शेयर बिक्री तथा रेमिट्यान्सबाट प्राप्त रकमलगायत केही सम्पत्तिलाई अदालतले वैध मानेको छ।

पौडेलको कुल सम्पत्ति करिब ४६ करोड ११ लाख रुपैयाँ भेटिएकोमा ४ करोड १६ लाख रुपैयाँको मात्रै स्रोत खुलेको अदालतको निष्कर्ष छ।

सिंगापुर र अमेरिकाका बैंक खातामा रहेको करिब २८ करोड ९५ लाख रुपैयाँमध्ये पौडेलकी पत्नी एलिना बस्नेतको अमेरिकास्थित खातामा रहेको करिब ३ करोड ७२ लाख रुपैयाँलाई अदालतले वैध मानेको छ। बाँकी रकमलाई गैरकानुनी रूपमा आर्जित सम्पत्ति ठहर गरिएको हो।

यस आधारमा अदालतले ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा बिगो कायम गरेको हो।

किन साढे दुई वर्ष मात्रै कैद?

पौडेललाई ठूलो रकम भ्रष्टाचार गरेको ठहर भए पनि कैद सजाय भने भ्रष्टाचार निवारण ऐनमा रहेको कानुनी व्यवस्थाका आधारमा तोकिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गरी गैरकानुनी सम्पत्ति राखेको कसुरमा एकदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ।

पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर हुँदा लागू रहेको कानुनअनुसार विशेष अदालतले उनलाई दुई वर्ष कैद सजाय तोकेको हो। साथै गैरकानुनी रूपमा आर्जन गरेको बिगो बराबर ४१ करोड ९४ लाख रुपैयाँभन्दा बढी जरिबाना र सोही बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ।

त्यसमा थप ६ महिना कैद भने उनको पदका कारण थपिएको हो।

भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार नेपाल सरकारको विशिष्ट श्रेणी वा सचिवसरहको पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको ठहर भएमा मूल सजायमा थप तीन वर्षसम्म कैद गर्न सकिने व्यवस्था छ।

विशेष अदालतले यही व्यवस्थाअनुसार पौडेललाई थप ६ महिना कैद सजाय सुनाएको हो। अर्थात् गैरकानुनी सम्पत्ति आर्जनमा दुई वर्ष र विशिष्ट श्रेणीको पदमा रहेर भ्रष्टाचार गरेको आधारमा थप ६ महिनासहित कुल साढे दुई वर्ष कैद भएको हो।

पौडेलविरुद्ध यसअघि पनि मुद्दा

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा चल्नुअघि नै पौडेलविरुद्ध अख्तियारले तीनवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको थियो।

सुरक्षण मुद्रण केन्द्रको भवन तथा संरचना निर्माणमा अनियमितता गरेको आरोपमा २०८० सालमा मुद्दा दायर भएको थियो। त्यसपछि अमेरिकाको स्थायी आवास अनुमति (पीआर) लिएको विवरण लुकाएर नेपालमा नियुक्ति लिएको आरोपमा अर्को मुद्दा चलाइएको थियो।

त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा पौडेलसहित ६ जनाविरुद्ध तेस्रो मुद्दा दायर भएको थियो।

पछि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अनुसन्धान गरी पौडेलविरुद्ध छुट्टै मुद्दा दायर गरेको हो।

विशेष अदालतको फैसलाविरुद्ध पौडेलले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। हाल थुनामा रहेका उनलाई ठूलो बिगो, जरिबाना र सम्पत्ति जफतको फैसला भए पनि कैद सजाय कानुनले तोकेको सीमाभित्र रहेर निर्धारण गरिएको हो।

प्रकाशित मिति: २०८३ आश्विन १८, आईतवार १२:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !