कांग्रेस विभाजनको डिलमा पुगेको पूर्णबहादुर खड्काको दाबी

कांग्रेस विभाजनको डिलमा पुगेको पूर्णबहादुर खड्काको दाबी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार ११:३०
कांग्रेस विभाजनको डिलमा पुगेको पूर्णबहादुर खड्काको दाबी

काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको अन्तिम डिलमा पुग्ने अवस्था देखिएको बताएका छन्।

खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्र देखिएको पछिल्लो विवादप्रति चिन्ता व्यक्त गर्दै विभाजन रोक्न अन्तिम प्रयास गरिरहेको बताएका हुन्।

ADVERTISEMENT

उनले लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ।’

कांग्रेसभित्र दुई पक्षले छुट्टाछुट्टै रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला खड्का भने कुनै पक्षमा खुलेका छैनन्। उनले सम्भावित विभाजन रोक्न आफूले अन्तिम प्रयास गरिरहेको बताएका छन्।

खड्काका अनुसार निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि रहेको दाबी गर्दै उनले पुनरावलोकनका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेकाले आफू महाधिवेशन प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ।

‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ,’ उनले भनेका छन्।

यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशनमा सहभागी हुनु आफूलाई नैतिक रूपमा उचित नलागेको खड्काले स्पष्ट पारेका छन्।

महाधिवेशनका प्रक्रिया रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरिए पनि अदालतले कार्यतालिका रोक्न आदेश नदिएको उनले बताएका छन्। त्यसकै कारण अहिले कांग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उनको भनाइ छ।

खड्काले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई गम्भीरतापूर्वक लिँदै अग्राधिकारका साथ सुनुवाइ गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ११:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !