धनुषाको जागिरटोलका प्रगतिशील मावि पाँच वर्षदेखि विद्यालय व्यवस्थापन समितिविहीन

धनुषाको जागिरटोलका प्रगतिशील मावि पाँच वर्षदेखि विद्यालय व्यवस्थापन समितिविहीन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३, शनिबार १८:४३
धनुषाको जागिरटोलका प्रगतिशील मावि पाँच वर्षदेखि विद्यालय व्यवस्थापन समितिविहीन

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–७ जागिरटोलस्थित प्रगतिशील माध्यमिक विद्यालयमा विगत पाँच वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन।

विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको व्यवस्थापन, पारदर्शिता र शैक्षिक गतिविधिको निगरानीबारे प्रश्न उठ्न थालेका छन्।

ADVERTISEMENT

विद्यालयको समग्र व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार तथा विद्यालय र अभिभावकबीच समन्वय कायम गर्न व्यवस्थापन समितिको महत्त्वपूर्ण भूमिका हुन्छ। तर, प्रगतिशील माध्यमिक विद्यालयमा लामो समयदेखि समिति गठन नहुँदा विद्यालयको व्यवस्थापन र निर्णय प्रक्रियाबारे चासो बढेको छ।

विद्यालयका प्रधानाध्यापक सुबोध धुरझारले पटकपटक अभिभावक भेला बोलाएर व्यवस्थापन समिति गठनको प्रयास गरिए पनि सहमति जुट्न नसकेको बताएका छन्।

‘हामीले पटकपटक अभिभावक भेलाका लागि पत्र काटेर भेला गराउँदै विद्यालय व्यवस्थापन समिति गठनको प्रयास गर्दै आएका छौँ,’ उनले भने, ‘तर अध्यक्ष पदका लागि ३९–४० जनाको नाम आउँदा सहमति हुन सकेन।’

अध्यक्ष पदका लागि धेरै जनाले दाबी गरेपछि सहमति जुटाउन नसक्दा विद्यालय व्यवस्थापन समितिविहीन बनेको उनले स्वीकार गरे।

प्राध्यापक धुरझारका अनुसार विद्यालय व्यवस्थापन समिति गठनका लागि फेरि प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। ‘अब हामी असोजमा फेरि समिति गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने।

विद्यालयमा पाँच वर्षदेखि व्यवस्थापन समिति गठन हुन नसक्नुको कारण र यस अवधिमा विद्यालयको व्यवस्थापन, आर्थिक पारदर्शिता तथा शैक्षिक गतिविधिको निगरानी कसरी भइरहेको छ भन्ने विषयमा थप स्पष्टता आवश्यक देखिन्छ।

समिति गठनमा देखिएको लामो समयदेखिको गतिरोध अन्त्य गर्दै विद्यालय व्यवस्थापनमा अभिभावक तथा सरोकारवालाको सहभागिता सुनिश्चित गर्नु चुनौती बनेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार १८:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !