सरकारी गाडीमा अनुगमन गर्दै आफ्नै पालिका पुगेपछि पक्राउ परे सुजन

सरकारी गाडीमा अनुगमन गर्दै आफ्नै पालिका पुगेपछि पक्राउ परे सुजन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३०, मंगलवार १३:१५
सरकारी गाडीमा अनुगमन गर्दै आफ्नै पालिका पुगेपछि पक्राउ परे सुजन

विराटनगर : आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय तथा विभिन्न संस्थाको अनुगमन गर्ने एक युवक पक्राउ परेका छन्।

झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा धम्कीपूर्ण र दबाबपूर्ण शैलीमा प्रस्तुत भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका विश्वकर्मामाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार विश्वकर्माले आफू रास्वपाको नेता तथा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रहेको दाबी गर्दै सरकारी कार्यालयमा प्रवेश तथा सार्वजनिक सरोकारका बैठकमा पहुँच बनाउँदै आएका थिए।

प्रधानमन्त्रीको सचिवालय सदस्य भएको दाबी गरेपछि जिल्ला प्रशासन कार्यालयबाट उनलाई अनुगमनका लागि सरकारी गाडीसहितको सुविधा उपलब्ध गराइएको प्रहरी स्रोतको भनाइ छ। सोही सरकारी गाडी प्रयोग गरी उनी विभिन्न सरकारी कार्यालयको अनुगमनमा पुगेको बताइएको छ।

यसै क्रममा आफ्नै गाउँपालिका हल्दिबारी पुगेका विश्वकर्मा त्यहाँबाट फर्किएपछि पक्राउ परेका हुन्। उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनी रास्वपाका केन्द्रीय सदस्य नरहेको तथा प्रधानमन्त्रीको सचिवालयमा समेत कार्यरत नरहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनका अनुसार विश्वकर्मा आफूलाई रास्वपाको नेता भन्दै सरकारी नम्बर प्लेटको गाडीमा गाउँपालिका कार्यालय पुगेका थिए। उनले पालिकाको विकासका विषयमा चासो राखेको अध्यक्ष लिङ्देनले बताए।

‘ऊ गाउँको भाइ हो। पहिले पनि आउँथ्यो। रास्वपाको नेता भएको छु भनेपछि गाउँको विकासमा सहयोग गर्नुपर्छ भनेको थिएँ,’ अध्यक्ष लिङ्देनले भने, ‘अहिले सबै जेनजी नेता छन्, अरू विषय थाहा भएन।’

सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दबाब र धाकधम्की दिएको आरोपमा विश्वकर्मालाई सोमबार पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिए।

प्रहरीले विश्वकर्माले झुटो परिचय दिएर कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्‍याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरी जानकारी तथा निवेदन दिन आग्रह गरेको छ।

‘थप अनुसन्धान भइरहेको छ। कसैलाई हानि–नोक्सानी पुर्‍याएको भए निवेदन दिन आग्रह गरेका छौं,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘सरकारी गाडी प्रयोग गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ।’

प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार १३:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !