सानीभेरी जिप दुर्घटना : दुई जनाको मृत्यु, गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर माग

सानीभेरी जिप दुर्घटना : दुई जनाको मृत्यु, गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर माग
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २८, आईतवार ११:१८
सानीभेरी जिप दुर्घटना : दुई जनाको मृत्यु, गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। मृतक दुवै जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका जिप चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की १५–१६ वर्षीया प्रेमकला पुन रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

ADVERTISEMENT

कोटगाउँबाट सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा नौ जना घाइते भएका छन्। तीमध्ये तीनदेखि चार जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टरमार्फत उद्धार गर्न माग गरिएको छ। सानीभेरी गाउँपालिकाले हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेको छ।

गाउँपालिकाको आग्रहअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए। गाउँपालिकाले उद्धार खर्च आफैं व्यहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको उनले बताए।

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २८, आईतवार ११:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !