संसदीय विशेष समिति गठन गर्न सरकारलाई विपक्षी दलहरूको दबाब

संसदीय विशेष समिति गठन गर्न सरकारलाई विपक्षी दलहरूको दबाब
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २५, बिहीबार १३:५०
संसदीय विशेष समिति गठन गर्न सरकारलाई विपक्षी दलहरूको दबाब

काठमाडौं : प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।

बिहीबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सरकारी राहत तथा उद्धार कार्यको अनुगमन, निरीक्षण र आवश्यक सुझाव दिनुका साथै संसदीय तहबाट सहजीकरण गर्न विशेष समिति गठनको माग अघि बढाउने निर्णय गरेको हो।

ADVERTISEMENT

एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार सरकारले हालसम्म विशेष समिति गठन नगरेकाले संसद्मा यस विषयलाई सशक्त रूपमा उठाउँदै सरकारको निरन्तर ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।

उनले विपद्सँग सम्बन्धित राहत, उद्धार, खोजी र पुनर्स्थापनाका काममा सरकारलाई सहयोग गर्ने, भइरहेका गतिविधिको अनुगमन तथा निरीक्षण गर्ने र आवश्यक सुझाव दिने उद्देश्यले विशेष समिति गठनको माग गरिएको बताइन्।

बैठकले विपद्का बेला उद्धार तथा खोजीमा खटिएका सुरक्षा निकायसहित सबै सम्बन्धित निकायलाई धन्यवाद दिँदै प्रारम्भिक चरणमा पर्याप्त सल्लाह, समन्वय र पूर्वतयारीको अभावमा केही कमजोरी देखिएको निष्कर्ष निकालेको छ।

अर्यालले विपद्बाट प्रभावित नागरिकको धैर्यता टुट्न नदिन सरकारले तत्काल अस्थायी पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिइन्।

राष्ट्रिय विपत्तिको यस घडीमा दलीय राजनीतिक स्वार्थ र एजेन्डालाई पन्छाएर सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा हातेमालो गर्ने साझा प्रतिबद्धता विपक्षी दलहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १३:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !