प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित

प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १६, मंगलवार ११:१९
प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित

काठमाडौं : अनिश्चितकालका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसदीय क्यालेन्डर प्रभावित भएको छ। क्यालेन्डरअनुसार सोमबार र मंगलबार बस्नुपर्ने प्रतिनिधिसभा बैठक स्थगित हुँदा निर्धारित कार्यसूची अघि बढ्न सकेको छैन।

संघीय संसद् सचिवालयले भदौ १० गते सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको थियो। बैठक पुनः कहिले बस्ने भन्ने विषय अझै टुंगो लागिसकेको छैन।

ADVERTISEMENT

संसदीय क्यालेन्डरअनुसार सोमबारको बैठकमा कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। साथै शून्य समय सञ्चालन तथा केही वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको थियो।

त्यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता माथि सामान्य छलफल गर्ने कार्यसूची थियो। शून्य समय, विशेष समय तथा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम पनि तय गरिएको थियो।

बैठक स्थगित हुँदा संसदीय क्यालेन्डर प्रभावित भएको विषयमा छलफल गर्न आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको अर्को बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

यसैबीच, क्यालेन्डरअनुसार आगामी बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसबाहेक शून्य समय सञ्चालन गर्ने कार्यक्रम पनि समावेश छ।

संसदीय क्यालेन्डरमा आगामी बैठकका दिन र सम्भावित कार्यसूची तय गरिए पनि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएपछि ती कार्यक्रम प्रभावित भएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार ११:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !