बाढीमा २३८ विद्यार्थी र १३ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति

बाढीमा २३८ विद्यार्थी र १३ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १४:३२
बाढीमा २३८ विद्यार्थी र १३ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति

काठमाडौं : भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १६ वटा विद्यालयमा क्षति पुगेको छ भने २३८ जना विद्यार्थी र १३ जना शिक्षक सम्पर्कविहीन भएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले शनिबारसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार तीन जिल्लाका १६ विद्यालयमा पूर्ण, आंशिक तथा सामान्य क्षति पुगेको जनाएको छ। क्षति प्रभावित विद्यालयसँग सम्बन्धित विद्यार्थी र शिक्षक गरी कुल २५१ जना सम्पर्कविहीन रहेको मन्त्रालयको तथ्यांक छ।

ADVERTISEMENT

प्रारम्भिक विवरणअनुसार रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ। रसुवाको उत्तरगया र गोसाईंकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका तथा धादिङको गल्छी गाउँपालिका र नीलकण्ठ नगरपालिकाका विद्यालय प्रभावित भएका छन्।

बाढीले केही विद्यालय भवन पूर्ण रूपमा बगाएको छ भने कतिपय विद्यालयका कक्षाकोठा लेदो, बालुवा र माटोले भरिएका छन्।

रसुवाका चार विद्यालयमा पूर्ण क्षति पुगेको मन्त्रालयले जनाएको छ। उत्तरगया गाउँपालिकाको नीलकण्ठ माध्यमिक विद्यालयको भवनमा प्रत्यक्ष क्षति नपुगे पनि सो विद्यालयका २०० जना विद्यार्थी र चार जना शिक्षक सम्पर्कविहीन छन्।

त्यस्तै, गोसाईंकुण्ड गाउँपालिकास्थित कोमीश्यामेवाङ्फेल माध्यमिक विद्यालयका १६ जना विद्यार्थी र एक जना शिक्षक बाढीपछि सम्पर्कविहीन छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालयका १० जना शिक्षकमध्ये तीन जना मात्र सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

नुवाकोटको विदुर नगरपालिकास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका १२ जना विद्यार्थी र एक जना शिक्षक पनि सम्पर्कविहीन छन्। त्रिशूली सामुदायिक बोर्डिङका तीन जना विद्यार्थीको समेत अवस्था अज्ञात रहेको छ।

यसैगरी, गोसाईंकुण्ड तीर्थयात्रामा गएका धादिङका चार जना शिक्षक पनि सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।

धादिङमा एक विद्यालयमा पूर्ण र तीन विद्यालयमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

नुवाकोटस्थित त्रिभुवन बहुमुखी क्याम्पस तथा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको छात्रबाससमेत बाढीले पुरिएको मन्त्रालयले जनाएको छ। प्रभावित विद्यालयमध्ये अधिकांश सामुदायिक तथा केही निजी विद्यालय रहेका छन्।

कुन विद्यालयमा कति क्षति?

रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ। उक्त विद्यालयमा १०९ जना विद्यार्थी अध्ययनरत थिए।

उत्तरगया गाउँपालिकाका चिप्लेटी आधारभूत विद्यालय, मोर्डन ट्रिनिटी बोर्डिङ र मालिकादेवी आधारभूत विद्यालय पनि बाढीले बगाउँदा पूर्ण रूपमा क्षति पुगेको छ।

नुवाकोटको विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवन बाढीले बगाएको छ। उक्त विद्यालयमा करिब एक हजार ६ सय विद्यार्थी अध्ययनरत थिए। बाढी आउनुअघि नै सबै विद्यार्थीलाई घर पठाइएकाले मानवीय क्षति हुनबाट जोगिएको मन्त्रालयले जनाएको छ।

यसैगरी चण्डेश्वरी माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ, ज्ञानकुञ्ज बोर्डिङ, उत्तरगया पब्लिक इङ्लिस स्कूल, जेडी बोर्डिङ स्कूल र पायोनियर बोर्डिङ स्कूलमा पनि बाढीबाट क्षति पुगेको छ।

धादिङको गल्छी गाउँपालिकास्थित बागेश्वरी माध्यमिक विद्यालय, सक्सेस एकेडेमी, अम्लेश्वर गुरुकुल संस्कृत विद्यालय र जलेश्वर माध्यमिक विद्यालय पनि बाढीबाट प्रभावित भएका छन्।

मन्त्रालयले बाढीबाट भएको क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !