रसुवा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्न सांसद राम विनोद यादवको अपिल

रसुवा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्न सांसद राम विनोद यादवको अपिल
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १३, शनिबार २०:५७
रसुवा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्न सांसद राम विनोद यादवको अपिल

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य राम विनोद यादवले रसुवागढीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सांसदहरूलाई अपिल गरेका छन्।

यादवले शनिबार जारी गरेको अपिलमा रसुवागढीमा आएको विनाशकारी बाढीले पुर्‍याएको अकल्पनीय धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते, विस्थापित तथा प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि सम्पूर्ण देश एकजुट हुनुपर्ने बताएका छन्।

ADVERTISEMENT

उनले विपद्मा परेको नागरिकको पीडा कुनै दल, क्षेत्र वा भूगोलको मात्र नभई सम्पूर्ण राष्ट्रको पीडा भएको उल्लेख गरेका छन्।

यादवले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरूलाई आफ्नोतर्फबाट एक महिनाको पारिश्रमिक विपद् पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराउन हार्दिक अपिल गरेका छन्।

‘आउनुहोस्, हामी सबैले आफ्नो एक महिनाको पारिश्रमिक विपद् पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराऔँ,’ यादवले अपिलमा भनेका छन्।

उनले सानो सहयोगले समेत विपद्मा परेका परिवारका लागि ठूलो आशा र भरोसा बन्न सक्ने बताएका छन्। राजनीतिक विचार फरक हुन सक्ने भए पनि मानवता र राष्ट्रप्रतिको दायित्व सबैको साझा भएको उनको भनाइ छ।

यादवले विपद्को कठिन समयमा प्रभावित नागरिकको साथमा उभिन र मानवताको पक्षमा एकजुट हुन आग्रह गरेका छन्।

उनले जनप्रतिनिधि हुनुको अर्थ व्यवहारबाट प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘विपद्मा परेका नागरिक एक्ला छैनन्, सिंगो राष्ट्र उनीहरूको साथमा छ।’

प्रतिनिधिसभा सदस्य यादवले यस अपिलमार्फत विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा राज्यसँगै जनप्रतिनिधि तथा आम नागरिकको समेत सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। हाल रसुवा बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा भइरहेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार २०:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !