साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड

साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ११, बिहीबार ११:३५
साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्। उनले विपत्तिका बेला कोही पनि नागरिक राज्यको पहुँच र सहयोगबाट बाहिर नपर्ने गरी साझा संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले राष्ट्रिय संकटको सामना गर्न राजनीतिक मतभेद र आग्रह–पूर्वाग्रहलाई थाती राखेर खोज, उद्धार र राहतमा जुट्नुपर्ने बताए।

ADVERTISEMENT

‘अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार र राहतमा जुट्ने समय हो,’ उनले भने।

रसुवाको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक विपत्ति मात्र मान्न नहुने उनको भनाइ छ। नेपालको भौगोलिक अवस्थाका कारण देशले वर्षौंदेखि बाढी, पहिरो र भूकम्पजस्ता विपत्ति भोग्दै आए पनि पछिल्ला घटनाको प्रकृति, तीव्रता र प्रभाव गम्भीर संकेतका रूपमा देखिएको उनले बताए।

‘पछिल्ला केही घटनाको प्रकृति, तीव्रता र प्रभाव हेर्दा यी नियमित रूपमा भइरहने प्राकृतिक विपत्ति मात्र होइनन्। जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएका गम्भीर संकेत हुन्,’ उनले भने।

प्रचण्डले तत्काल खोज, उद्धार र राहतका कामलाई प्राथमिकता दिनुपर्ने तथा दीर्घकालीन रूपमा यस्ता विपत्तिको जोखिम न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक, प्राविधिक र नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्ने बताए।

अहिलेको पहिलो दायित्व नागरिकको जीवन बचाउनु रहेको उल्लेख गर्दै उनले सरकार, राजनीतिक दल र सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्ने पनि बताए। हिमाली क्षेत्रमा बढ्दो विपत्तिको जोखिमलाई ध्यानमा राख्दै नेपालले छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग दीर्घकालीन सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।

जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकका लागि जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको विषयलाई नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउनुपर्नेमा पनि उनले जोड दिए।

विपत्तिका बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक पर्ने उल्लेख गर्दै प्रचण्डले कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका संकटमा नेपाली समाज र राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढेको स्मरण गरे।

‘देशमा राजनीतिक मतभेद र विमति छन्, लोकतन्त्रमा ती स्वाभाविक पनि हुन्। तर विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्छ,’ उनले भने।

रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको संकटबाट पार पाउन सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहने प्रचण्डले बताए। पार्टीले यसअघि नै बैठक बसेर आवश्यक निर्णय गरिसकेको र पार्टी पंक्तिलाई सरकारी निकायसँग समन्वय गरी उद्धार, राहत तथा सहयोगका काममा परिचालित हुन निर्देशन दिइसकेको उनले जानकारी दिए।

सर्वदलीय बैठकमा प्रचण्डले सबै पक्षलाई साझा प्रतिबद्धता जनाउन आग्रह गर्दै भने, ‘आज हामी सबैले एउटा साझा संकल्प गर्नुपर्छ—विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्।’

प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार ११:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !