रसुवा बाढीप्रति अग्रगामी मोर्चाको गम्भीर ध्यानाकर्षण, तत्काल उद्धार र राहतमा जुट्न सरकारसँग माग

रसुवा बाढीप्रति अग्रगामी मोर्चाको गम्भीर ध्यानाकर्षण, तत्काल उद्धार र राहतमा जुट्न सरकारसँग माग
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार २०:४९
रसुवा बाढीप्रति अग्रगामी मोर्चाको गम्भीर ध्यानाकर्षण, तत्काल उद्धार र राहतमा जुट्न सरकारसँग माग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति अग्रगामी मोर्चाले गम्भीर दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न सरकारसँग माग गरेको छ।

अग्रगामी मोर्चाका प्रवक्ता डा. सीके राउतले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा स्याफ्रुबेँसी, टिमुरे, रसुवागढीलगायतका क्षेत्रमा बाढीका कारण ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको उल्लेख गरिएको छ।

ADVERTISEMENT

मोर्चाले बाढीबाट ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको तत्काल खोजी तथा घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

विज्ञप्तिमा बाढीपीडितको तत्काल उद्धार, राहत, सुरक्षित आवास र आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्न तथा भएको क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडितलाई उचित क्षतिपूर्ति र पुनःस्थापनाको तत्काल प्याकेज घोषणा गर्न सरकारसँग जोडदार माग गरिएको छ।

मोर्चाले विपद्को समयमा उद्धार तथा राहत कार्यलाई तीव्र र निष्पक्ष बनाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ। साथै, संकटको अवस्थामा मोर्चासँग आबद्ध दलका कार्यकर्ताहरूलाई समेत सुरक्षित रहँदै आ–आफ्नो तर्फबाट राहत तथा उद्धार कार्यमा खटिन आग्रह गरिएको छ।

भोटेकोशीमा आएको भीषण बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ। प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार २०:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !