मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाका लागि जनकपुरमा अनिश्चितकालीन धर्ना

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाका लागि जनकपुरमा अनिश्चितकालीन धर्ना
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार १२:५४
मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाका लागि जनकपुरमा अनिश्चितकालीन धर्ना

जनकपुरधाम : मुक्त हरवाचरवाको पहिचान, अधिकार र दिगो पुनर्स्थापनाको माग गर्दै मुक्त हरवाचरवा संघर्ष समितिले आजदेखि जनकपुरधाममा अनिश्चितकालीन धर्ना सुरु गरेको छ ।

“पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो अधिकार” भन्ने नारासहित संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना सुरु गरेको हो । धर्नाप्रति विभिन्न दलित अधिकार तथा नागरिक संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।

ADVERTISEMENT

माग सम्बोधनका लागि ११ दिनअघि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमक्ष अल्टिमेटमसहित ज्ञापनपत्र बुझाए पनि ठोस पहल नभएपछि आन्दोलनलाई थप सशक्त बनाइएको संघर्ष समितिले जनाएको छ । भदौ ९ गते मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका हजारौँ मुक्त हरवाचरवाले जनकपुरधामस्थित रेलवे स्टेसनदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका थिए ।

नेपाल सरकारले २०७९ साउन २ गते हरवाचरवा प्रथा अन्त्य तथा हरवाचरवा मुक्तिको घोषणा गरेको चार वर्ष पुगिसक्दा पनि अधिकांश मुक्त हरवाचरवा भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी तथा आर्थिक पुनर्स्थापनाबाट वञ्चित रहेको अधिकारकर्मीहरूको भनाइ छ ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवाको पूर्ण मुक्ति, भूमि अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुनर्स्थापना र मर्यादित जीविकोपार्जन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै आन्दोलनकारीले उक्त प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, पर्याप्त बजेट र समयसीमासहित कार्यान्वयन गर्न माग गरेका छन् ।

संघर्ष समितिले मधेश प्रदेशका आठवटै जिल्लामा हरवाचरवाको लगत संकलन तथा प्रमाणीकरण गरी तत्काल परिचयपत्र वितरण गर्न, भूमिहीन परिवारको पहिचान गर्न तथा दिगो पुनर्स्थापनाको योजना लागू गर्न माग गरेको छ ।

मुक्त हरवाचरवाको अधिकार र स्वतन्त्रताका लागि लामो समयदेखि मधेश प्रदेशमा कार्यरत राष्ट्रिय दलित नेटवर्क नेपाल, जनचेतना दलित संगम, श्रीपुर्राज सामुदायिक विकास केन्द्र, दलित जनकल्याण युवा क्लब र सामुदायिक सुधार केन्द्रले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

ती संस्थाले मुक्त हरवाचरवाको माग सम्बोधनका लागि सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्दै नागरिक समाज, मानव अधिकारकर्मी तथा न्यायप्रेमी समुदायलाई आन्दोलनमा साथ दिन आह्वान गरेका छन् ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १२:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !