रसुवाको बाढीले जलविद्युत आयोजना र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति प्रभावित

रसुवाको बाढीले जलविद्युत आयोजना र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति प्रभावित
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार ११:३६
रसुवाको बाढीले जलविद्युत आयोजना र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति प्रभावित

काठमाडौं : रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका जलविद्युत आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रमा क्षति पुगेको छ। त्यस्तै, त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा समेत क्षति भएको छ।

ADVERTISEMENT

बाढीले त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनामा पनि असर पुर्‍याएको प्राधिकरणले जनाएको छ। उत्पादन, प्रसारण र वितरणतर्फका संरचनामा क्षति भएपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको हो।

प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गरी विद्युत आपूर्ति यथाशीघ्र नियमित गर्न आवश्यक काम अघि बढाइरहेको जनाएको छ। आपूर्ति नियमित नहुँदासम्म धैर्य गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।

प्रारम्भिक विवरणअनुसार बाढीले विद्युत संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन अनुरोध गर्दै आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न पनि आग्रह गरेको छ।

पछिल्लो बाढीका कारण रसुवाको ऊर्जा पूर्वाधारमा पुनः ठूलो असर परेपछि जलविद्युत उत्पादनदेखि प्रसारण र वितरण प्रणालीसम्म प्रभावित हुने जोखिम बढेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार ११:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !