जसपाको २० वर्षे राजनीतिक यात्राबाट सिताराम यादव अलगिए, युवालाई नेतृत्व हस्तान्तरण गर्न माग

जसपाको २० वर्षे राजनीतिक यात्राबाट सिताराम यादव अलगिए, युवालाई नेतृत्व हस्तान्तरण गर्न माग
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ९, मंगलवार २३:५५
जसपाको २० वर्षे राजनीतिक यात्राबाट सिताराम यादव अलगिए, युवालाई नेतृत्व हस्तान्तरण गर्न माग

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का युवा नेता सिताराम यादवले पार्टीसँगको आफ्नो २० वर्ष लामो राजनीतिक यात्रा अन्त्य भएको घोषणा गरेका छन्। उनले साधारण सदस्यताको सम्बन्धसमेत पूर्णविराम लगाएको बताएका छन्।

यादवले मंगलबार सामाजिक सञ्जालमार्फत जसपा नेपालसँगको दुई दशक लामो राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।

ADVERTISEMENT

पार्टीबाट अलगिने घोषणा गर्दै यादवले अब राजनीतिक दलको नेतृत्व युवाको हातमा हस्तान्तरण गर्नुपर्ने मागसमेत गरेका छन्। उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अब युवाको मार्गनिर्देशक बनेर काम गर्न आग्रह गरेका छन्।

यादवले सरकारी कर्मचारीलाई निश्चित उमेरपछि अवकाश दिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै राजनीतिमा पनि उमेरको सीमा आवश्यक रहेको तर्क गरेका छन्। उनका अनुसार ६५ वर्षभन्दा माथि उमेर भएका व्यक्तिलाई पार्टीको कार्यकारिणी भूमिकाबाट बिदाइ गर्दै मार्गनिर्देशकको भूमिकामा सीमित गर्नुपर्छ।

त्यसैगरी, पार्टी अध्यक्षले बढीमा दुई कार्यकाल मात्रै नेतृत्व गर्न पाउने स्पष्ट प्रावधान पार्टी विधानमै राख्नुपर्ने उनको माग छ। नेतृत्वमा पुस्तान्तरण र नयाँ पुस्तालाई अवसर दिन यस्तो व्यवस्था आवश्यक रहेको यादवको तर्क छ।

यादवले पार्टीभित्र लामो समयदेखि रहेको नेतृत्वलाई सम्मान गर्दै अब युवालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “आजदेखि जनता समाजवादी पार्टी, नेपालसँगको मेरो २० वर्षको राजनीतिक यात्रा मात्र होइन—साधारण सदस्यताको सम्बन्धसमेत पूर्णविराम गरेको घोषणा गर्दछु।”

जसपा नेपालसँगको लामो राजनीतिक सम्बन्ध अन्त्य गर्ने घोषणासँगै यादवले अघि सारेका नेतृत्व हस्तान्तरण, उमेर सीमा र अध्यक्षको कार्यकालसम्बन्धी प्रस्तावले पार्टीभित्रको पुस्तान्तरणको बहसलाई थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार २३:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !