बैतडीमा बढ्दै किशोरी आमाको संख्या

बैतडीमा बढ्दै किशोरी आमाको संख्या
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ९, मंगलवार १५:२८
बैतडीमा बढ्दै किशोरी आमाको संख्या

बैतडी :बैतडीमा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या हरेक वर्ष बढ्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तीन वर्षको तथ्यांकले जिल्लामा किशोरी आमाको संख्या निरन्तर बढिरहेको देखाएको हो।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट ७५२ जना किशोरीले सुरक्षित प्रसूति सेवा लिएका छन्।

ADVERTISEMENT

आर्थिक वर्ष २०८०/८१ मा २० वर्ष नपुग्दै २२१ किशोरीले सुरक्षित प्रसूति सेवा लिएका थिए। यो संख्या आर्थिक वर्ष २०८१/८२ मा बढेर २५८ पुगेको थियो।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा थप वृद्धि हुँदै २७३ किशोरीले सुरक्षित प्रसूति सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

वर्षेनी बढ्दै गएको यो तथ्यांकले जिल्लामा बालविवाहको समस्या कायमै रहेको संकेत गर्ने जानकारहरू बताउँछन्। बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनीहरूको भनाइ छ।

नेपालको कानुनले २० वर्ष उमेर पूरा नगरी गरिने विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ।

बालविवाह न्यूनीकरणका लागि बहुपक्षीय प्रयास आवश्यक रहेको बालविवाहविरुद्ध अभियानमा सक्रिय अभियन्ता कुन्ती भट्टले बताइन्।

‘बालविवाह कुनै एक पक्षको प्रयासले मात्रै रोक्न सकिँदैन। यसका लागि बहुपक्षीय प्रयास आवश्यक छ,’ उनले भनिन्।

पछिल्लो समय बालविवाहको स्वरूपमा समेत परिवर्तन आएको भट्टको भनाइ छ। उनका अनुसार मागी विवाहको तुलनामा भागी विवाहका कारण हुने बालविवाह बढ्दै गएको छ।

नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ। तर ग्रामीण क्षेत्रमा विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालविवाहको समस्या अझै कायमै रहेको सरोकारवालाहरू बताउँछन्।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टका अनुसार कम उमेरमा शारीरिक तथा मानसिक परिपक्वता पूर्ण नहुँदा गर्भधारण र प्रसूति गराउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा जोखिम बढ्न सक्छ।

‘कम उमेरमा बच्चा जन्माउँदा कुपोषण, कम तौलको बच्चा जन्मिने, रक्तअल्पतालगायतका जोखिम निम्तिने गर्छन्,’ उनले भने।

बालविवाह रोक्न सरकारले कानुनी व्यवस्था गरे पनि ग्रामीण क्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा किशोरी आमा बन्ने क्रम रोक्न चुनौती देखिएको छ। स्वास्थ्य कार्यालयको तथ्यांकले पनि बैतडीमा यो समस्या न्यूनीकरणका लागि थप प्रभावकारी र समन्वित प्रयास आवश्यक रहेको देखाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १५:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !