जीतपुर सिमरा बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित

जीतपुर सिमरा बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ५, शुक्रबार ०९:२४
जीतपुर सिमरा बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित

रौतहट : बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव अन्ततः ५ बुँदे सहमतिपछि साम्य भएको छ ।

पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन् ।

ADVERTISEMENT

भाद्र २ गते घटेको उक्त अमानवीय घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा लामो छलफल भएको थियो ।

वार्तामा पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच निम्न ५ बुँदे सहमति भएको छ ।

राहत र रोजगारीको सिफारिसः पीडित परिवारको लागि उचित राहत र रोजगारीको व्यवस्थापन गर्न स्थानीय तहको समेत सहभागितामा नेपाल सरकार गृह मन्त्रालय समक्ष सिफारिस गरी पहल गर्ने ।

थप दोषीमाथि कडा कारबाहीः घटनामा संलग्न संदिग्धहरू हाल प्रहरी हिरासतमा रहे पनि अनुसन्धानका क्रममा अन्य कसैको संलग्नता पुष्टि भएमा उनीहरूमाथि पनि नियमानुसार कडा कारबाही अघि बढाउने ।

सुरक्षा व्यवस्था सुदृढ गर्नेः जिल्लाको वर्तमान र भविष्यका सुरक्षा चुनौतीहरूको विश्लेषण र पुनरावलोकन गरी नागरिकलाई भरपर्दो र विश्वसनीय सुरक्षा वातावरण मिलाउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने ।

लापरबाही गर्ने सुरक्षाकर्मीलाई कारबाहीः इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा कार्यसम्पादनमा लापरबाही देखाउने सुरक्षाकर्मीहरूलाई आवश्यक कारबाही गर्ने माग पूरा भएको ।

आन्दोलन स्थगितः सहमति भएकै मितिदेखि आन्दोलनका सम्पूर्ण विरोधका कार्यक्रमहरू पूर्ण रूपमा स्थगित गर्ने ।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले वार्तामा भएको छलफल र पाँच बुँदे सहमतिको पुष्टि गर्दै स्थिति सामान्य बन्दै गएको जानकारी दिए। मागहरू पूरा हुने सुनिश्चितता पाएपछि प्रशासन र पीडित पक्ष आन्दोलन रोक्न सहमत भएका हुन् ।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार ०९:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !