भन्सारमा पूर्व–आगमन सूचना आदानप्रदान गर्न चार देशबीच समझदारी

भन्सारमा पूर्व–आगमन सूचना आदानप्रदान गर्न चार देशबीच समझदारी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार १३:०९
भन्सारमा पूर्व–आगमन सूचना आदानप्रदान गर्न चार देशबीच समझदारी

काठमाडौँ : नेपालसहित चार देशका भन्सार प्रशासनबीच मालवस्तुको पूर्व–आगमन सूचना आदानप्रदान गर्ने समझदारी भएको छ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच समझदारी भएको भन्सार विभागले जनाएको छ।

ADVERTISEMENT

माल्दिभ्समा आयोजित एसएएसईसीको १४औँ सबग्रुप बैठकका क्रममा चारै देशका भन्सार प्रशासकले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुअघि नै त्यससम्बन्धी सूचना आदानप्रदान गरिनेछ। प्राप्त सूचनाको पूर्वविश्लेषण गरी जोखिमयुक्त वस्तु पहिचान गर्न तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन यसले सहयोग पुग्ने विभागको भनाइ छ।

यसबाट व्यापारिक प्रक्रियामा लाग्ने समय र लागत घट्नुका साथै वस्तु जाँचपासलाई छिटो, सहज र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गर्दै वैदेशिक व्यापारलाई पूर्वानुमानयोग्य बनाउनसमेत समझदारीले योगदान गर्ने विभागले जनाएको छ।

यसअघि नेपाल र भारतबीच पनि वस्तुको पूर्व–आगमन सूचना आदानप्रदानसम्बन्धी समझदारी भइसकेको छ। भारतको नयाँदिल्लीमा गत माघमा नेपालका भन्सार विभाग र भारतीय केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

अग्रिम सूचना आदानप्रदानमार्फत जोखिमयुक्त वस्तुको निगरानी तथा नियमन सहज बनाउने र कम जोखिम भएका वस्तुको जाँचपास छिटो गर्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालले यस्तो समझदारी विस्तार गर्दै आएको हो।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १३:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !