बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै, आज ४ बजे सपथको तयारी

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै, आज ४ बजे सपथको तयारी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार ११:०८
बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै, आज ४ बजे सपथको तयारी

हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्रीहरूको जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ।

सहमति अनुसार नेकपा एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले दुई मन्त्रालय र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन मन्त्रालय पाउने गरी भागबण्डा गरिएको छ।

ADVERTISEMENT

राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी गरिएको छ। उनीहरूले सम्हाल्ने मन्त्रालय भने अझै टुंगो लाग्न बाँकी छ।

मन्त्री बन्न लागेका राप्रपा प्रदेशसभा सदस्य राजु विष्टका अनुसार उनीहरूको सपथ ग्रहण बिहीबार अपराह्न ४ बजेका लागि तय भएको छ। उनले संसदीय दलको निर्णयअनुसार सरकारलाई समर्थन गरिएको दाबी गरे।

यद्यपि, बागमतीमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरलाई समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष पठाएका थिए।

तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले छुट्टै पत्र पठाउँदै थापाले दिएको समर्थन पार्टीको आधिकारिक निर्णय नभएको दाबी गरेकी थिइन्। पार्टीको नीतिविपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता थापालाई कारबाही गर्ने तयारीसमेत गरेको छ।

तर विष्टले भने पार्टीको कारबाहीसम्बन्धी विषयबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले कुमारी तामाङ प्रमुख सचेतक पदमा नरहेको दाबीसमेत गरेका छन्।

यसैबीच राप्रपाको केन्द्रीय नेतृत्वले भने बागमती प्रदेश सरकार गठनमा पार्टीको समर्थन नरहेको स्पष्ट पारेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यक्तिले दिएको समर्थनलाई पार्टीको समर्थन मान्न नसकिने बताएका छन्।

उनले १२ सांसद रहेको राप्रपाबाट एक जना सांसदले मात्रै सरकारलाई समर्थन दिन नसक्ने उल्लेख गर्दै त्यसरी गरिएको दाबीले आवश्यक संख्या नपुग्ने बताएका छन्।

पार्टीको केन्द्रीय नीतिविपरीत सरकारलाई समर्थन गरेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय दलका नेता उद्धव थापामाथि कारबाहीको तयारी गरेको स्रोतको भनाइ छ। पार्टीले बुधबार नै थापासँग स्पष्टीकरण मागिसकेको छ।

यता थापाले भने सरकारमा सहभागी हुने प्रक्रिया र मन्त्रीहरूको सपथ नरोकिने बताउँदै आएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार ११:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !