देउवा समूह महाधिवेशन रोक्न सर्वोच्च जाने तयारीमा

देउवा समूह महाधिवेशन रोक्न सर्वोच्च जाने तयारीमा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३, बुधबार १३:०१
देउवा समूह महाधिवेशन रोक्न सर्वोच्च जाने तयारीमा

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।

कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षले त्यसविरुद्ध कानुनी बाटो अपनाउने तयारी गरेको हो। सर्वोच्च अदालतमा कांग्रेसभित्रको विवादसम्बन्धी मुद्दा विचाराधीन रहेकाले त्यसको फैसला नआएसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको तर्क छ।

ADVERTISEMENT

देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी भइरहेको छ। कानुनी प्रक्रियाका लागि आवश्यक तयारी भइरहेको र सम्भव भएसम्म बुधबार नै अदालत जाने प्रयास भइरहेको उनले बताए। बुधबार सम्भव नभए एक–दुई दिनभित्र मुद्दा दायर गरिने उनको भनाइ छ।

यसअघि देउवा समूहको भेलाले वर्तमान सभापति गगन थापाको नेतृत्व अस्वीकार गर्दै १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही निर्णयका आधारमा महाधिवेशन प्रक्रिया र नेतृत्वसम्बन्धी विवादलाई लिएर देउवा पक्षले कानुनी चुनौती दिन लागेको हो।

यता कांग्रेसको इतर पक्षका नेता डा. शशांक कोइरालाले पनि महाधिवेशन प्रक्रिया तत्काल अघि नबढाउन माग गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाइसकेका छन्।

तर सभापति गगन थापा भने निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने अडानमा छन्। पार्टीभित्र असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्ने प्रयासस्वरूप उनले यसअघि महाधिवेशनको कार्यतालिका केही पछाडि सारेका थिए।

महाधिवेशनको मिति र नेतृत्वलाई लिएर कांग्रेसभित्र विवाद चर्किँदै गएपछि पार्टीको आन्तरिक विवाद अब राजनीतिकसँगै कानुनी मोडमा पुगेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १३:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !