आईजीपीलाई खगेन्द्र सुनारको चुनौती– ‘आरोप गलत भए अदालत जानुस्, कठघरामा उभिएर जवाफ दिन तयार छु’

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती– ‘आरोप गलत भए अदालत जानुस्, कठघरामा उभिएर जवाफ दिन तयार छु’
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार १२:३२
आईजीपीलाई खगेन्द्र सुनारको चुनौती– ‘आरोप गलत भए अदालत जानुस्, कठघरामा उभिएर जवाफ दिन तयार छु’

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोप लगाउँदै प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका प्रश्नको छानबिन हुनुपर्ने बताएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीका स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताबारे आफूले उठाएको प्रश्नमा अडिग रहेको बताए। उनले १५ दिनभित्र खरिदसम्बन्धी कागजात उपलब्ध गराउन माग गरिएको भए पनि त्यसबीच प्रहरीले करोडौँ रुपैयाँको टेन्डर आह्वान गरेको भन्दै प्रश्न उठाए।

ADVERTISEMENT

आफूमाथि मानमर्दनको आरोप लागे अदालत गएर कानुनी उपचार खोज्न उनले सम्बन्धित पक्षलाई चुनौती दिए। उनले संसदीय समितिमा आएर आरोप–प्रत्यारोपमा उत्रिन नहुने बताए।

सुनारले गैरसरकारी संस्था (एनजिओ)का नाममा सामाजिक सद्भाव बिगार्ने, जातीय द्वन्द्व र साम्प्रदायिकता भड्काउने गतिविधि भइरहेको आरोपसमेत लगाए। यस्ता गतिविधिमा राज्यले स्वीकृति दिन नहुने उनको भनाइ थियो।

दलित तथा गरिबका नाममा विनियोजन हुने बजेट लक्षित समुदायसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले त्यस्ता बजेटमा ठूलो चलखेल भइरहेको दाबी गरे। राज्य वा वैदेशिक सहायताबाट आएको रकम फ्रिज हुन नदिई लक्षित क्षेत्रमा खर्च गर्नुपर्ने उनले बताए।

सुनारले वैदेशिक सहायताबाट निर्माण भएका भौतिक पूर्वाधारको प्रभावकारितामाथि पनि प्रश्न उठाए। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिँदै उनले पूर्वाधार निर्माणपछि पनि त्यसको प्रभावकारी सञ्चालन हुन नसके राज्यले ऋणको भार मात्रै बोक्नुपर्ने अवस्था आउने बताए।

‘अन्तर्राष्ट्रिय सहायतामा विमानस्थल बनाउने तर विमान नउड्ने, बसपार्क बनाउने तर बस नगुड्ने हो भने त्यसको जिम्मेवारी कसले लिने?’ भन्दै उनले राज्यको लगानी र वैदेशिक सहायताको प्रभावकारिता सुनिश्चित गर्नुपर्ने बताए।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १२:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !