पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन: हर्क साम्पाङ

पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन: हर्क साम्पाङ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार १८:५६
पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन: हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पुराना दललाई दोष दिएर सरकार आफ्नो जिम्मेवारी र कार्यक्षमताको अभावबाट पन्छिन नमिल्ने बताएका छन्।

सोमबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले मुलुकमा व्याप्त ग्यास अभाव लगायतका जनजीविकाका सवालमा सरकारले बहानाबाजी नगरी ठोस नतिजा दिनुपर्ने बताए।

ADVERTISEMENT

‘पुराना दलले काम गर्न नसकेर नै जनताले नयाँ शक्तिलाई मत दिएका हुन्। त्यसैले सरकारले अब नतिजा देखाउनुपर्छ,’ साम्पाङले भने, ‘फेरि पनि पुराना दललाई नै दोष दिने हो भने सरकारको औचित्य रहँदैन।’

त्यस्तै, संसदमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिका लागि सभामुख डोलप्रसाद अर्यालले गरेको रुलिङका सम्बन्धमा टिप्पणी गर्दै साम्पाङले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताए।

‘सभामुखले रुलिङ गर्नु आफैंमा एउटा उपलब्धि हो। केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने मान्यताका साथ यसलाई हेर्नुपर्छ,’ उनले भने।

उनले प्रधानमन्त्री संसदमा उपस्थित भएको दिन आफूले सीमा समस्या र जनजीविकाका विषयमा महत्त्वपूर्ण प्रश्नहरू सोध्ने तयारी गरेको बताए।

जनताले भोगिरहेको समस्यालाई आफूले व्यक्तिगत रूपमा समेत महसुस गरेको उल्लेख गर्दै उनले सरकारले गुनासो गर्ने नभई काम गरेर देखाउनुपर्ने बताए।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १८:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !