सुनसरी र सिरहा घटना: सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

सुनसरी र सिरहा घटना: सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २७, बुधबार ०८:०३
सुनसरी र सिरहा घटना: सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

ललितपुर: नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज र सिरहामा घटेका दुःखद घटनाका पीडितहरूसँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न कडा माग गरेको छ। साथै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि सर्वस्वीकार्य उच्चस्तरीय न्यायिक आयोग तत्काल गठन गर्नुपर्ने आफ्नो पूर्ववत् अडान पुन: दोहोर्‍याएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सुनसरी र सिरहालगायतका स्थानमा भएका घटनामा निर्दोष नागरिकले ज्यान गुमाउनुका साथै निजी सम्पत्तिमा ठूलो क्षति पुगेको जनाइएको छ।

ADVERTISEMENT

सरकारले पीडित पक्षलाई न्याय दिने प्रतिबद्धता जनाए पनि चार जनालाई सहिद घोषणा गर्ने बाहेक अन्य सहमति कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउँदै कांग्रेसले बाँकी रहेका सम्पूर्ण सहमतिहरू अविलम्ब कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसानका साथै मिटरब्याज (अनुचित लेनदेन) पीडित सङ्घर्ष समितिसँग सरकारले गरेका सहमतिहरू पनि अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ।

समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११:३० बजे पुनः बस्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार ०८:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !