लोकतन्त्र र संविधानवादका पक्षमा मेरो अडान कहिल्यै डगमगाएन: देउवा

लोकतन्त्र र संविधानवादका पक्षमा मेरो अडान कहिल्यै डगमगाएन: देउवा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ६, बुधबार १०:४७
लोकतन्त्र र संविधानवादका पक्षमा मेरो अडान कहिल्यै डगमगाएन: देउवा

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिकका राजनीतिक अधिकारको रक्षा गर्नु आफ्नो पार्टीको प्रमुख ऐतिहासिक दायित्व रहेको बताएका छन्।

जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा एक शुभकामना विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री देउवाले बीपीले अघि सारेको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मेलमिलाप र जनताको सर्वोच्चताको विचार आज पनि नेपालको राजनीतिक यात्राको निरन्तर मुख्य मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका छन्।

ADVERTISEMENT

बीपी कोइरालाको प्रेरणादायी नेतृत्वमा आफ्नो राजनीतिक यात्रा सुरु गर्न पाउनुलाई जीवनकै ठूलो सौभाग्य मान्दै उनले आफ्नो छ दशकभन्दा लामो राजनीतिक जीवनमा जेल, प्रतिबन्ध, दमन र कठिन परिस्थितिहरू सामना गर्दा पनि लोकतन्त्र, संविधानवाद र जनअधिकारका पक्षमा कहिल्यै सम्झौता नगरेको दाबी गरेका छन्।

उनले प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुन नसक्ने र जनताको अधिकारभन्दा ठूलो अन्य कुनै शक्ति नरहने आफ्नो अडान सधैँ कायम रहेको दोहोर्‍याएका छन्।

स्वास्थ्य उपचारका क्रममा हाल विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता र लोकतन्त्रको हिततर्फ नै केन्द्रित रहेको बताउँदै उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरूप्रति गम्भीर चासो व्यक्त गरेका छन्। बीपीको स्मृतिप्रति उच्च सम्मान प्रकट गर्दै देउवाले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १०:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !