बेरोजगारीको पीडा र ३५ लाखको ऋण: एमएस्सी गरेका विवेकले रोजे आत्मदाहको बाटो

बेरोजगारीको पीडा र ३५ लाखको ऋण: एमएस्सी गरेका विवेकले रोजे आत्मदाहको बाटो
मधेशपत्र मधेशपत्र २०८३ असार २८, आईतवार १८:५२
बेरोजगारीको पीडा र ३५ लाखको ऋण: एमएस्सी गरेका विवेकले रोजे आत्मदाहको बाटो

सर्लाही : विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका सर्लाहीका एक युवकले बेरोजगारी र बढ्दो आर्थिक अभावका कारण आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।

सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेका हुन्। शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका मण्डलको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनालगत्तै उनलाई प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

पारिवारिक स्रोतका अनुसार विवेकले करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा तीन वर्षसम्म विज्ञान शिक्षकका रूपमा अध्यापन गराएका थिए।

अध्यापन क्षमता राम्रो हुँदाहुँदै पनि विद्यालयभित्रको राजनीतिक चलखेल र दाउपेचका कारण उनलाई जबरजस्ती जागिर छाड्न बाध्य पारिएको परिवार र साथीभाइको दाबी छ।

जागिर खोसिएपछि घरमै बस्दै आएका विवेकले रोजगारीका लागि विभिन्न शैक्षिक संस्थाहरूमा धेरै प्रयास गरे भने लोक सेवा आयोगको परीक्षा समेत दिए। तर, कुनै पनि प्रयास सफल हुन नसकेपछि उनी चरम निराशा र मानसिक तनावमा पर्न थालेका थिए।

श्रीमती रिनादेवी मण्डलका अनुसार आमाबुबाको सम्पत्ति खर्च गरेर उच्च शिक्षा हासिल गरे पनि केही गर्न नसकेको भन्दै विवेकले बेलाबेला परिवारसँग दुःख पोख्ने गर्दथे।

विवेकको उच्च शिक्षा र घरखर्च चलाउने क्रममा परिवारले गाउँघर र बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण पुगेको छ।

विगत चार वर्षदेखि कतारमा रहेका दाजुको कमाइबाट विवेकलाई पढाएकाले उनी एमएस्सी उत्तीर्ण भएर शिक्षक बनेपछि परिवारको आर्थिक अवस्था सुधारिने ठूलो अपेक्षा थियो।

तर, रोजगारी खोसिएपछि ऋणको भार र आर्थिक अभावका कारण विवेकको मानसिक स्वास्थ्यमा समेत समस्या देखिएकाले केही समयअघि उनको उपचार समेत गरिएको आमा मन्टुटिया देवीले बताइन्।

हाल विवेककी श्रीमती, एक छोरी र मामाघरमा बसेर पढ्दै गरेका एक छोरा छन्। पहिलेदेखि नै आर्थिक रूपमा कमजोर मण्डल परिवार अहिले विवेकको औषधोपचार र ३५ लाखको ऋणका कारण थप गम्भीर संकटमा परेको छ।

प्रकाशित मिति: २०८३ असार २८, आईतवार १८:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !