मधेश प्रदेश सभा आज बस्दै, बजेट पारित गराउने अन्तिम प्रयास

मधेश प्रदेश सभा आज बस्दै, बजेट पारित गराउने अन्तिम प्रयास
मधेशपत्र मधेशपत्र २०८३ असार २८, आईतवार ०९:५२
मधेश प्रदेश सभा आज बस्दै, बजेट पारित गराउने अन्तिम प्रयास

जनकपुरधाम : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गराउन मधेश प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आर्थिक वर्ष समाप्त हुन अब पाँच दिन मात्र बाँकी रहेकाले बजेट समयमै पारित नभए प्रदेशको आर्थिक गतिविधि प्रभावित हुने जोखिम बढेको छ।

शनिबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय गरेको थियो। बैठकअघि बिहान ११ बजे सत्ता पक्ष र विपक्षी दलबीच देखिएको विवाद समाधानका लागि सर्वदलीय बैठक पनि बोलाइएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुरेन्द्र महतोका अनुसार सर्वदलीय छलफलबाट सहमति जुटाउने प्रयास गरिनेछ।

ADVERTISEMENT

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले बजेट समयमै पारित हुन नसके प्रदेश आर्थिक संकटमा पर्न सक्ने अवस्था सिर्जना हुने भएकाले सभामुखको पहलमा बैठक बोलाउने निर्णय भएको बताए।

बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले असार १४ गतेदेखि लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन्। सोही कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन।

मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाको गठबन्धन सरकार रहेको छ। विपक्षी दलले सरकारले उपभोक्ता समितिमार्फत बजेट सञ्चालन गर्ने नाममा कमिसनमुखी योजना समावेश गरेको, बजेट वितरणमा भद्रगोल गरेको तथा मन्त्री र सत्तारुढ सांसदका निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको आरोप लगाउँदै आएको छ।

प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (नेपाल) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बजेट अवरुद्ध पार्नु विपक्षीको उद्देश्य नभएको स्पष्ट पार्दै जनताको आवश्यकता र विकासभन्दा पनि ‘सेटिङ’का आधारमा अर्बौं रुपैयाँका योजना समेटिएको, कमिसनमुखी कार्यक्रम समावेश गरिएको र बजेट वितरणमा पक्षपात गरिएको भन्दै विरोध गर्नुपरेको बताए।

आजको सर्वदलीय बैठकबाट सहमति जुटे प्रदेश सभाले बजेटमाथिको छलफल अघि बढाउँदै चालु अधिवेशनमै बजेट पारित गर्ने प्रयास गर्नेछ।

प्रकाशित मिति: २०८३ असार २८, आईतवार ०९:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !