धनुषाका चार वडाध्यक्षको पद गयो

धनुषाका चार वडाध्यक्षको पद गयो
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १, बिहीबार १२:५२
धनुषाका चार वडाध्यक्षको पद गयो

जनकपुरधाम : निर्वाचन आयोगले धनुषाका चार स्थानीय तहका वडाध्यक्षको पद रिक्त भएको जनाएको छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) राजनीतिक दलले उनीहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी गराएपछि आयोगले प्रचलित कानुनअनुसार पद रिक्त भएको घोषणा गरेको हो।

ADVERTISEMENT

पद रिक्त हुनेमा नेकपा (माओवादी केन्द्र)बाट गत २०७९ को स्थानीय तहको निर्वाचनमा शहीदनगर नगरपालिका–८ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल , नेकपा (एकीकृत समाजवादी ) बाट कमला नगरपालिका–५ का वडाध्यक्ष शिवा पासवान र मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरी निर्वाचित भएको थियो।यी चारै जना वडाध्यक्ष अहिले नेकपा एमालेमा पार्टी प्रवेश गरेर राजनीति गरिरहेको छ।

आयोगको निर्णयसम्बन्धी विवरणमा उनीहरूको पद रिक्त भएको उल्लेख छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ मा दल त्यागसम्बन्धी व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार सम्बन्धित दलबाट दल त्याग गरेको सूचना प्राप्त भएपछि आयोगले पद रिक्त भएको जानकारी सार्वजनिक गरेको हो।

यसअघि पनि दल परिवर्तन गरेका स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने क्रम देखिएको छ। तर, स्थानीय तहको कार्यकाल र प्रचलित कानुनी व्यवस्थाका कारण रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने अवस्था फरक हुन सक्छ।

प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार १२:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !