सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ

सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३१, बुधबार ११:४९
सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ

सिड्नी : पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा एक नेपाली युवक पक्राउ परेका छन्।

घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा मुद्दा दायर गरिएको समाचार संस्था ‘द अस्ट्रेलिया टुडे’ले जनाएको छ।

ADVERTISEMENT

घटनाको २४ घण्टाभन्दा कम समयपछि अधिकारी बुधबार बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए। अदालतमा उनले आफूमाथि लागेको आरोप स्वीकार वा अस्वीकारबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

अदालतबाट बाहिरिने क्रममा अधिकारीसँग केही समर्थक पनि देखिएका थिए। सञ्चारकर्मीले प्रश्न गरेपछि उनले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेको समाचारमा उल्लेख छ।

अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ बताएका छन्। उनका अनुसार अधिकारी तनावमा रहेका छन् र परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन्।

कसरी भयो घटना ?

मंगलबार दिउँसो करिब २ बजे अर्बनस्थित नर्मनबी रोडमा ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको खबर पाएपछि आपत्कालीन सेवाका टोली घटनास्थल पुगेका थिए।

गम्भीर घाइते बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो। उपचारका क्रममा केही घण्टापछि उनको मृत्यु भएको हो।

घटनामा अधिकारीलाई चोटपटक लागेको थिएन। अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएको थियो। त्यसपछि प्रहरीले उनलाई अर्बन प्रहरी स्टेसन लगेर मुद्दा चलाएको थियो।

अधिकारी हाल जमानतमा छन्। उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप हालसम्म प्रमाणित भएको छैन।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ११:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !