अस्पताल बाहिरै महिलाले बच्चा जन्माएको भनिएको घटनाको वास्तविकता के हो?

अस्पताल बाहिरै महिलाले बच्चा जन्माएको भनिएको घटनाको वास्तविकता के हो?
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २५, बिहीबार १४:२२
अस्पताल बाहिरै महिलाले बच्चा जन्माएको भनिएको घटनाको वास्तविकता के हो?

राजविराज : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर एक महिलाले बच्चा जन्माएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडिओ सार्वजनिक भएपछि घटना चर्चामा आएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा अस्पतालको गेटबाहिरै एक महिलाले शिशुलाई जन्म दिएको देखिन्छ। भिडिओ सार्वजनिक भएपछि अस्पतालको लापरबाहीका कारण ती महिलाले सडकमा नै बच्चा जन्माउन बाध्य भएको भन्दै अस्पताल प्रशासनको आलोचना भइरहेको छ।

ADVERTISEMENT

तर, अस्पताल प्रशासनले सामाजिक सञ्जालमा दाबी गरिएजस्तो घटना नभएको जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले ती गर्भवती महिला अस्पताल आएको पुष्टि गर्दै घटनाबारे आफूले थप जानकारी लिइरहेको बताए।

हाल कामको सिलसिलामा आफू काठमाडौंमा रहेको बताउँदै उनले अस्पतालबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार ती महिलाले यसअघि कुनै स्वास्थ्य परीक्षण नगराएको बताए।

‘एक जना गर्भवती महिला अस्पताल आउनुभएको रहेछ। उहाँले यसअघि कुनै पनि परीक्षण नगरेकाले नर्सहरूले पहिला परीक्षण गरेर आउनु भनेर परीक्षण गर्ने सूची दिनुभएको रहेछ,’ उनले भने, ‘तर उहाँहरू अस्पतालबाहिर जानुभएछ। केही समयपछि शिशुको नाभी काट्न भन्दै आएको जानकारी मलाई आएको छ। यस विषयमा म थप जानकारी बुझ्दै छु।’

यता, ती महिला मंगलबार राति करिब २ बजेतिर सुत्केरी गराउन अस्पताल पुगेको र अस्पतालले मागेको रकम तिर्न नसकेपछि बाहिर निकालिएको दाबीसमेत सामाजिक सञ्जालमा गरिएको छ। यही दाबीका आधारमा केही व्यक्तिले अस्पताल प्रशासनको विरोध गरेका छन्।

तर, अस्पताल प्रशासनले भने महिलालाई उपचारबाट वञ्चित गरी बाहिर निकालिएको आरोप अस्वीकार गरेको छ। घटनाको वास्तविक कारण र अस्पताल तथा बिरामी पक्षबीच के भएको थियो भन्ने विषयमा थप विवरण सार्वजनिक हुन बाँकी छ।

सामाजिक सञ्जालमा फैलिएको भिडिओ र दुवै पक्षका दाबीबीच फरक विवरण देखिएकाले घटनाको यथार्थ पत्ता लगाउन थप छानबिन आवश्यक देखिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १४:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !