रसुवा बाढीपीडितलाई सहयोग गर्न जुटौं, कटु वचन नबोलौं : गगन थापा

रसुवा बाढीपीडितलाई सहयोग गर्न जुटौं, कटु वचन नबोलौं : गगन थापा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार ११:२९
रसुवा बाढीपीडितलाई सहयोग गर्न जुटौं, कटु वचन नबोलौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि सबैलाई जुट्न आह्वान गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र सहयोग गर्न नसक्नेले कम्तीमा प्रभावितप्रति कटु वचन नबोल्न आग्रह गरेका हुन् ।

ADVERTISEMENT

‘मेरो एउटा अनुरोध छ– सहयोग गर्न सक्ने सहयोगमा जुटौं । सहयोग गर्न सक्दैनौं भने पनि कम्तीमा कटु वचन कसैले नबोलौं,’ उनले भनेका छन् ।

थापाले केही दिनअघि रसुवा बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा देखेको क्षति, खोज तथा उद्धारमा भइरहेका प्रयास र प्रभावित नागरिकका गुनासाबारे उनले भिडियोमार्फत जानकारी दिएका छन् ।

उनले बाढीपहिरोबाट भएको क्षति बाहिरबाट अनुमान गरेभन्दा निकै ठूलो रहेको बताए । ‘यो यति ठूलो प्रलय, यति ठूलो विपत्ति हो कि यति धेरै घरबार उजाड गरेको छ, यति धेरै परिवार र मानिसहरू प्रभावित हुनुभएको छ । तल फिल्डमा गइसकेपछि अझ थाहा हुन्छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा के भएको छ भनेर आकलन नै गर्न सकिँदैन । नाप्नै सकिँदैन ।’

विपत्तिको समयमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिँदै थापाले अहिलेको अवस्थामा प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

उनले कांग्रेसको तर्फबाट बाढी प्रभावित क्षेत्रमा गरिएको स्थलगत निरीक्षणका आधारमा सरकार र पार्टीले आगामी चरणमा गर्नुपर्ने काम समेटेर विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने जानकारी पनि दिए ।

‘पार्टीको तर्फबाट फिल्डमा गएर हामीले जे–जे कुरा देखेका छौं, त्यसका आधारमा सरकारले गर्नुपर्ने र ‘नेक्स्ट फेज’मा हामीले गर्नेलगायत विषय समेटेर डिटेल रिपोर्ट बनाएर सार्वजनिक गर्ने नै छौं,’ उनले भने ।

सभापति थापाले बाढीपहिरो प्रभावित क्षेत्रमा स्थानीय तह र प्रदेश सरकारले गरिरहेको खोज, उद्धार तथा राहतसम्बन्धी कामको समेत प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार ११:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !