तीन दिनपछि भग्नावशेषबाट कसरी गरियो ६ वर्षीया बालिकाको उद्धार ?

तीन दिनपछि भग्नावशेषबाट कसरी गरियो ६ वर्षीया बालिकाको उद्धार ?
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १६, मंगलवार १२:४०
तीन दिनपछि भग्नावशेषबाट कसरी गरियो ६ वर्षीया बालिकाको उद्धार ?

काठमाडौं : रसुवा बाढीपछि भएका उद्धारका घटनामध्ये एउटा घटनाले सबैलाई भावुक मात्र बनाएन, अचम्मितसमेत बनायो। त्यो घटना थियो— विनाशकारी बाढी आएको तीन दिनपछि भग्नावशेषबाट ६ वर्षीया बालिकालाई जीवित उद्धार गरिएको क्षण।

भदौ १० गते तिब्बत क्षेत्रमा गएको हिमपहिरोपछि आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो। बाढीपछि हजारौं मानिस बेपत्ता भएका छन् भने क्षतिको यकिन विवरण अझै संकलन भइरहेको छ।

ADVERTISEMENT

यही विपद्का बीच नुवाकोटको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा भग्नावशेषभित्र फसेकी ६ वर्षीया बालिकाको तीन दिनपछि जीवित उद्धार गरिएको थियो। बालिकाको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बाढीका क्रममा बालिकाका बाबु र आमा भागेर ज्यान बचाउन सफल भए पनि बालिका भने बेपत्ता भएकी थिइन्। खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले भग्नावशेषमा बेपत्ताको खोजी गर्ने क्रममा अचानक ‘ममी… ममी…’ भन्ने कमजोर आवाज सुनेपछि उद्धार अभियानले नयाँ मोड लिएको थियो।

उद्धार टोलीले आवाज आएको दिशातर्फ खोजी तीव्र बनायो। जस्ता, काठ तथा अन्य भग्नावशेषले थिचिएको स्थानबाट आवाज आइरहेको थियो। सावधानीपूर्वक भग्नावशेष हटाउँदै जाँदा टोलीले त्यहाँ एक बालिका जीवितै फसेको अवस्थामा फेला पार्‍यो।

पाँच मिनेटमै तयारी गरेर रसुवा पुगेको टोली

उद्धारमा खटिएको टोलीको नेतृत्व सशस्त्र प्रहरी बल नेपालको २० नम्बर गण (विपद् उद्धार गण), सिनामंगल, काठमाडौंका निरीक्षक सन्जु खत्रीले गरेका थिए।

उनका अनुसार भदौ १० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा बाढी आएपछि काठमाडौंको सिनामंगलमा रहेका सशस्त्र प्रहरीलाई पाँच मिनेटभित्र उद्धारका लागि तयार हुन निर्देशन दिइएको थियो।

‘हामीलाई पाँच मिनेटभित्र तयारी अवस्थामा रहन भनियो। हामी तुरुन्तै तयार भयौं,’ उनले भने।

हेलिकप्टरमार्फत करिब एक घन्टाको यात्रापछि टोली रसुवाको धुन्चे पुगेको थियो। त्यहाँ पुगेका ५० जना सुरक्षाकर्मीमध्ये खत्रीसहित नौ जनाको विशेष विपद् उद्धार टोली बनाइएको थियो।

उनीहरूको प्राथमिकता एउटै थियो— सम्भव भएसम्म धेरै मानिसलाई जीवित उद्धार गर्नु।

‘ममी… ममी…’ आवाजले रोकियो टोलीको पाइला

उद्धार अभियानका क्रममा हेलिकप्टरबाट करिब ३५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको थियो। मानसरोवर यात्रामा रहेका भारतीय तीर्थयात्रीदेखि केही चिनियाँ नागरिकसम्मलाई उद्धार गरी धुन्चे लगिएको थियो।

तर टिमुरे क्षेत्रमा उद्धारको काम अझै सकिएको थिएन।

भग्नावशेषभित्र कोही जीवितै फसेका छन् कि भन्ने खोजीका क्रममा चारैतिर जस्ता, काठ र भत्किएका संरचनाको थुप्रो थियो। त्यहीबीच टोलीका सदस्यले एउटा कमजोर आवाज सुने— ‘ममी… ममी…।’

त्यो आवाज एउटी बालिकाको थियो।

आवाज पछ्याउँदै उद्धार टोली जस्ता र काठले थिचिएको ठाउँमा पुग्यो। त्यहाँ भग्नावशेषभित्र एक बालिका फसेकी थिइन्।

टोलीले अत्यन्त सावधानीपूर्वक जस्ता र काठ हटाउन थाल्यो। केही समयको प्रयासपछि बालिकालाई जीवितै बाहिर निकाल्न टोली सफल भयो।

‘उहाँलाई जीवितै उद्धार गर्न सफल हुँदा हामी सबैलाई ठूलो राहत मिल्यो,’ उद्धारमा संलग्न टोलीले जनाएको छ।

उद्धारपछि पनि चुनौती कम भएन

बालिकालाई भग्नावशेषबाट बाहिर निकालिएपछि तत्काल सुरक्षित स्थानमा लगियो। रेडियो सेटमार्फत धुन्चेमा रहेको सशस्त्र प्रहरीको गुल्मलाई उद्धारबारे जानकारी गराइएको थियो।

बालिकाको स्वास्थ्य अवस्था कमजोर रहेकाले तत्काल उपचार आवश्यक थियो। उद्धार टोलीले उनलाई बिस्तारै पानी र जाउलो खुवाउन थाल्यो। केही समयपछि उनको होस फर्किएको थियो।

तर उद्धारपछि पनि टोलीसामु अर्को चुनौती थियो— बालिकालाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउने।

अर्को दिन बिहान मौसम प्रतिकूल भएकाले हेलिकप्टर उडाउन सम्भव भएन। उद्धार टोली बालिकालाई काठमाडौं ल्याउन मौसम खुल्ने प्रतीक्षामा रह्यो।

दिउँसो मौसममा केही सुधार आएपछि बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो। त्यसपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो।

विनाशकारी बाढीले पुर्‍याएको क्षतिको बीच भग्नावशेषभित्र तीन दिनसम्म फसेकी बालिकाको जीवित उद्धार हुनु उद्धारकर्मीका लागि आशाको ठूलो क्षण बनेको थियो।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १२:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !