बाबुआमा बाढीको छालबाट जोगिए, ६० घण्टापछि ६ वर्षीया छोरी जीवितै उद्धार

बाबुआमा बाढीको छालबाट जोगिए, ६० घण्टापछि ६ वर्षीया छोरी जीवितै उद्धार
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १४:१०
बाबुआमा बाढीको छालबाट जोगिए, ६० घण्टापछि ६ वर्षीया छोरी जीवितै उद्धार

काठमाडौं : रसुवामा आएको बाढीको करिब ६० घण्टापछि माटोमा पुरिएकी ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको छ। उद्धारपछि बालिकाका बाबुआमासँग पनि सम्पर्क भएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलको टिमुरेस्थित बोर्डर आउट पोस्ट (बीओपी) टोलीले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका क्रममा माटोभित्रबाट बच्चा रोएको जस्तो आवाज सुनेपछि खोजी तीव्र बनाएको थियो। त्यसक्रममा माटोले पुरिएकी ६ वर्षीया मनिषा उचाई मगरलाई जीवितै उद्धार गरिएको हो।

ADVERTISEMENT

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार मनिषाको टाउकोबाहेक शरीरका अधिकांश भाग माटोले पुरिएका थिए। काठको एउटा टाँडले टाउकोको केही भाग ढाकिनबाट जोगिएकाले उनी जीवित रहन सफल भएको प्रारम्भिक अनुमान गरिएको छ।

उद्धार गरिएकी मनिषाकी आमा गीता उचाई मगर टिमुरेस्थित ग्लोबल आईएमई बैंकमा कार्यरत रहेको खुलेको छ। बाढीमा परेका मनिषाका बाबुआमा पनि जीवितै छन् र हाल उपचाररत छन्।

बाबुआमाले बाढीको तीव्र छालले आफूहरूलाई भित्तातर्फ हुत्याएपछि ज्यान जोगिएको सुरक्षाकर्मीलाई बताएका छन्। उनीहरूलाई आफ्नी ६ वर्षीया छोरी पनि ६० घण्टापछि जीवितै उद्धार भएको जानकारी गराइएको छ।

मनिषाको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई काठमाडौं ल्याएर उपचार गराइएको छ। हाल बालिका र उनका बाबुआमा एउटै अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

उद्धारपछि सशस्त्र प्रहरीले बालिकालाई बीओपीमा राखेर प्राथमिक उपचार गरेको थियो। रातभर प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई धुन्चे लगिएको थियो।

यसैबीच, टिमुरेस्थित बीओपीमा कार्यरत नौ जना सशस्त्र प्रहरी कर्मचारी अझै बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !