धनुषामा २७७ किलोभन्दा बढी गाँजासहित पिकअप गाडी नियन्त्रणमा

धनुषामा २७७ किलोभन्दा बढी गाँजासहित पिकअप गाडी नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १२, शुक्रबार १०:४६
धनुषामा २७७ किलोभन्दा बढी गाँजासहित पिकअप गाडी नियन्त्रणमा

जनकपुरधाम : धनुषा प्रहरीले २७७ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार राति करिब ११ः३० बजे इलाका प्रहरी कार्यालय भरतपुर, धनुषाबाट प्रहरी नायब निरीक्षक विजयकान्त झाको कमान्डमा खटिएको गस्ती टोलीले गणेशमान चारनाथ नगरपालिका–९ स्थित धनुषा पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको पिकअप गाडीलाई शंका लागेर जाँच गरेको थियो।

ADVERTISEMENT

जाँचका क्रममा बागमती प्रदेश ०१–०२५ च ६१८३ नम्बरको पिकअप गाडीको हुडमा कालो त्रिपालले छोपेर राखिएको २२ वटा पोकामा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषध गाँजा र पिकअप गाडीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भरतपुर, धनुषामा ल्याई तौल गर्दा गाँजाको कुल तौल २७७ किलो ३३ ग्राम रहेको पाइएको हो।

गाडीमा चालक नरहेको र चालकको खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार १०:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !