रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ११, बिहीबार १२:१८
रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरोपछि भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ। घटनामा २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार खोज तथा उद्धार अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्नेछ। हाल सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण र राहत वितरणमा केन्द्रित रहेको जनाइएको छ।

ADVERTISEMENT

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या बढिरहेको छ। फेला परेका शवहरूको पहिचान गर्ने कामसमेत भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार नेपाल सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। यस्तै, नेपाल पर्यटन बोर्डको प्रारम्भिक तथ्यांकअनुसार ४६६ विदेशी र ११३ नेपाली गरी ५७९ यात्रुको अवस्था अझै अज्ञात छ।

यसैबीच, रसुवाको टिमुरेबाट ९४ नेपाली र २९ विदेशी गरी १२३ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित उद्धार गरिएको छ।

तिब्बतको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा पर्ने ल्हेन्दे खोलामा हिमनदी वा बरफको ठूलो चट्टान खसेपछि माटो र ढुंगासहितको ठूलो बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

भोटेकोशी हुँदै रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी पार गरेर त्रिशूली नदीमा मिसिएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

हालसम्म ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल तथा करिब ४० किलोमिटर कालोपत्रे सडक क्षतिग्रस्त भएको पुष्टि भएको छ। जलविद्युत् आयोजना, घर तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको सरकारले जनाएको छ।

सेना, प्रहरी र हेलिकोप्टरबाट उद्धार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रातभर प्रभावित क्षेत्रमा स्थलगत खोज तथा उद्धार अभियान सञ्चालन गरेका छन्।

सैन्य तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरी टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा फसेका नागरिकको उद्धारलाई तीव्र बनाइएको छ।

जिल्ला अस्पतालदेखि काठमाडौंका प्रमुख अस्पतालसम्म चिकित्सकीय टोली परिचालन गरिएको छ। घाइतेको उपचारका साथै अस्थायी आश्रय, खाद्यान्न, स्वच्छ खानेपानी र औषधिको व्यवस्था नेपाल सेनाको ब्यारेक तथा अन्य सुरक्षित स्थानमा गरिएको छ।

भारतबाट १० टन राहत सहयोग

विपद्पछि भारतले नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज अधिकारीलाई १० टन राहत सामग्री हस्तान्तरण गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै विपद्प्रति दुःख व्यक्त गरेका छन्। उनले आवश्यक सबै मानवीय सहयोगका लागि भारत तयार रहेको बताएका छन्।

भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि भारतबाट मानवीय सहायता तथा चिकित्सकीय सामग्री काठमाडौं आइपुगेको र राहत तथा उद्धारका लागि दुई देशबीच समन्वय जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार १२:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !