नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ११, बिहीबार ११:२९
नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पुनः सञ्चालनमा ल्याएको छ।

बाढीबाट प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकतर्फबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।

ADVERTISEMENT

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभी लाइन चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई पनि ११ केभीमार्फत सञ्चालनमा ल्याउने प्राविधिक काम भइरहेको छ।

आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी बाँकी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। साँझसम्म थप क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको ढकालले बताए।

त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङस्थित सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीबाट विद्युत् संरचनामा क्षति पुगेकाले नियमित प्रणालीबाट आपूर्ति गर्न कठिनाइ भएका क्षेत्रमा वैकल्पिक स्रोतमार्फत सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

विद्युत् सेवा यथाशीघ्र नियमित बनाउन प्राधिकरणले काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितको टोली नुवाकोटतर्फ परिचालन गरेको छ। टोलीले प्रभावित संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा रोकिएका कर्मचारीको उद्धारसँगै विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका थिए।

मन्त्री श्रेष्ठको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा खटिएको छ। टोलीमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणालगायत सहभागी छन्।

प्राधिकरणले बाढीबाट क्षति पुगेका विद्युत् संरचनाको अवस्था निरन्तर मूल्याङ्कन गर्दै सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीमार्फत आपूर्ति सञ्चालन गर्ने र क्षतिग्रस्त संरचनाको मर्मतपछि नियमित विद्युत् सेवा पूर्ण रूपमा पुनःस्थापना गर्ने जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार ११:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !