भोलि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर : यी ११ सांसदले सोध्दैछन् प्रश्न

भोलि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर : यी ११ सांसदले सोध्दैछन् प्रश्न
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ९, मंगलवार १३:५८
भोलि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर : यी ११ सांसदले सोध्दैछन् प्रश्न

काठमाडौं : प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री बालेन शाहसँग विभिन्न दलका ११ जना सांसदले प्रश्न गर्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न गर्ने भएका छन् । त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न राख्नेछन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन् । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्नेछिन् ।

प्रश्न सोध्न इच्छुक सांसदहरूले आफूले सोध्न चाहेको विषय र प्रश्न संसद् सचिवालयमा यसअघि नै दर्ता गराइसकेका छन् ।

यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बुधबारको समय निर्धारण गरेका थिए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न गर्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछन् ।

सोही व्यवस्थाअनुसार सभामुख अर्यालले बुधबारका लागि प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन् ।

नियमावलीको दफा ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ ।

त्यस्तै, दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि आफ्नो प्रश्नको विषयबारे लिखित जानकारी सभामुखलाई गराउनुपर्ने हुन्छ । सोहीअनुसार सभामुखले भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन समय दिएका थिए ।

प्रतिनिधिसभामा बढीमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न सक्ने व्यवस्था भए पनि यसपटक ११ जनाले मात्रै प्रश्न दर्ता गराएका छन् ।

सभामुखले सबै दलबाट कम्तीमा एक जना सांसद सहभागी हुने र बाँकी संख्या दलको प्रतिनिधित्वका आधारमा निर्धारण गरेका थिए । त्यसअनुसार रास्वपाका सात जना सांसदले प्रश्न सोध्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न दर्ता गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीको दफा ५९ मा प्रत्यक्ष प्रश्नोत्तरमा सोधिने प्रश्नसम्बन्धी सर्तको व्यवस्था छ । प्राप्त प्रश्न स्वीकारयोग्य भए वा नभएको निर्णय सभामुखले गर्नेछन् भने प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि पनि सभामुखले निर्धारण गर्नेछन् ।

दफा ६० अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले दिएको जवाफका सम्बन्धमा प्रतिनिधिसभामा थप छलफल भने गरिने छैन ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १३:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !