नेकपा कर्णालीमा किचलो, तीन मन्त्रीको शपथ रोकियो

नेकपा कर्णालीमा किचलो, तीन मन्त्रीको शपथ रोकियो
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १२:२१
नेकपा कर्णालीमा किचलो, तीन मन्त्रीको शपथ रोकियो

सुर्खेत : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ रोकिएको छ।

तीन मन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको थियो। तर, मन्त्री छनोटमा सहमति जुट्न नसकेपछि अन्तिम समयमा शपथ कार्यक्रम नै स्थगित गरिएको हो।

ADVERTISEMENT

मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयसँग शपथका लागि समय मागेका थिए। सोहीअनुसार प्रदेश प्रमुखको कार्यालयले बिहान ११ बजेको समय निर्धारण गरेको थियो। तर, मुख्यमन्त्री शाहीले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि शपथ कार्यक्रम स्थगित भएको हो।

मुख्यमन्त्री शाहीकै आग्रहमा शपथ कार्यक्रम स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार कर्णालीमा नेकपाले पाएका तीन मन्त्रालय अझै रिक्त छन्। एमालेबाट एक साताअघि नै तीन मन्त्री नियुक्त भइसके पनि मुख्यमन्त्री शाहीले आफ्नै दलभित्रको विवादका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ।

नेकपा संसदीय दलका नेता शाही मुख्यमन्त्री नियुक्त भएको २८ दिन बितिसक्दा पनि कर्णाली मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

सोमबार नेकपा सांसद तथा पूर्वअर्थमन्त्री विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा थियो। तर, साबिक समाजवादी धारले समेत प्रदेश सरकारमा आफ्नो प्रतिनिधित्व खोजेपछि विवाद थप चर्किएको नेकपाका नेताहरू बताउँछन्।

नेकपाका एक सांसदका अनुसार पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले पनि समस्या भएको हो।

‘साबिकको समाजवादी पक्षले पनि मन्त्रीमा दाबी गरिरहेको छ। नेकपाभित्र पनि आकांक्षीको भीड छ। दलको बैठकबाट टुंग्याउनुको साटो मुख्यमन्त्रीज्यूले खल्तीबाट नाम पठाउनुभएछ। त्यसैले विवादित बनेको हो,’ ती सांसदले भने।

सक्षम र योग्य व्यक्तिलाई मन्त्री बनाउनुको साटो सबै सांसदलाई पालो पुर्‍याउने प्रयास गरिएकाले विवाद बढेको उनको आरोप छ।

‘मन्त्रीमा सक्षम मान्छेलाई पठाउने होला त ? मूर्तिलाई मन्त्री बनाएर हुन्छ र ? कुरा नमिलेको यहीँनिर हो,’ उनले भने।

साबिक समाजवादी धारबाट कर्णाली प्रदेशसभामा एक जना मात्रै सांसद छन्। उनलाई पनि मन्त्री बनाउनुपर्ने मागसहित उक्त समूहका नेताहरूले पहल गरिरहेका छन्।

मन्त्री छनोटमा सहमति जुट्न नसक्दा शपथ रोकिएपछि कर्णाली सरकारमा नेकपाभित्रको आन्तरिक विवाद थप पेचिलो बनेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १२:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !